‘टेकअफ’ लिएको २०–२२ सेकेन्डमै कसरी दुर्घटनामा पर्‍यो सौर्य एयरलाइन्सको विमान ?

सीआरजे २०० जहाज नेपालमा पहिलोपटक ठुलो दुर्घटनामा

लोकपथ
2.8k
Shares

काठमाडौं । चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको सीआरजे–२०० (नाइन एन–एएमई) जहाज बुधबार बिहान दुर्घटनामा पर्दा १८ जनाको मृत्यु भयो भने एक जना घाइते छन् । क्याप्टेन मनिषरत्न शाक्यले उडाएको यो विमान दुर्घटनामा पर्दा उनीबाहेक सबैको मृत्यु भएको छ । क्याप्टेन शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त छन् ।

आफ्नै एयरलाइन्सका कर्मचारी र प्राविधिकहरू बोकेर काठमाडौंबाट पोखरा जान लागेको सो जहाज कसरी दुर्घटनामा प¥यो ? सत्यतथ्य जानकारी अब गठन हुने छानबिन समितिले पत्ता लगाउने नै छ । तर, दुर्घटनाको समयमा मौसम सफा हुनु, अन्य कुनै पनि बाह्य कारणले जहाजमा अवरोध आएको नदेखिनुले दुर्घटना रहस्यमय बन्न पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनामा परेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्तिमार्फत काठमाडौंबाट उड्नेबित्तिकै ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे–७ जहाज दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणको विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१।०४।०९ गते तदनुसार २४ जुलाई २०२४ बुधवारका दिन सौर्य एयरलाइन्सको सीआरजे–७ (नाइन एन–एएमई) जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको छ ।’

प्रारम्भिक जानकारी अनुसार, सो जहाज मर्मतपछिको पूर्ण परीक्षण ‘सी–चेक’ का लागि पोखरा जाने क्रममा दुर्घटनामा परेको हो । बुधवार बिहान ११ बजेर ११ मिनेटमा जहाजले त्रिभुवन विमानस्थलको धावनमार्ग छोडेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो जहाजको टावरसँग अन्तिम संवाद ‘क्लियर फर टेकअफ’ थियो । यो भनेको एयर ट्राफिक कन्ट्रोलरले जहाज उडाउन पाइलटलाई दिने अनुमति हो । सो जहाजले धावनमार्ग ०२ (कोटेश्वरतर्फ) बाट टेकअफ लिएको थियो । टेकअफ लिनु भनेको जहाज उड्यो भन्ने हो । उडेको २० देखि २२ सेकेन्डमा ढलपल–ढलपल गर्दै जहाज दाहिनेतर्फ मोडियो र भुईँमा बजारिन पुग्यो ।

एटीसीसँग चालकदलको अन्तिम संवादमा एयरक्राफ्टमा समस्या भएकाबारे कुनै कुराकानी भएको थिएन ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलको भनाइअनुसार, धावनमार्ग छाडेको २० देखि २२ सेकेन्डमा जहाजले नियन्त्रण गुमाएको देखिन्छ । प्रारम्भिक अनुमानबाट के कारणले जहाज दुर्घटना हुन पुग्यो भन्ने खुल्दैन ।

सौर्य एयरलाइन्सको उच्च व्यवस्थापनसहितका कर्मचारीहरू सवार यो जहाज एक नियमित मर्मत तथा परीक्षण मानिने सी–चेकका लागि पोखरा उडेको थियो । पोखरा उडेको यो विमानमा एयरलाइन्सको व्यवस्थापन समूहका ५ जना सवार थिए ।

विमानमा सौर्यका चिफ असफ सेफ्टी सागर आचार्य, सिए एमओ म्यानेजर अश्विनकुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञप्रसाद पौड्याल, चिफ अप अपरेसन्स मनिषरत्न शाक्य (क्याप्टेन) र चिफ अफ क्युए (क्वालिटी अफिसर) दिलीप बर्मा सवार थिए ।
सौर्य एयरलाइन्सको ह्याङ्गर काठमाडौंमा नभएको कारण पोखरा विमानस्थलस्थित ह्याङ्गरमा एक महिनासम्म राखेर मर्मत गर्न उक्त जहाजले अनुमति लिएको थियो । मर्मत प्रयोजनकै लागि उक्त जहाज पोखरातर्फ जाँदै थियो । उक्त जहाज सी चेकका लागि पोखरा लगिँदै थियो ।

के हो सी चेक ?
निश्चित समयको उडान भरेपछि वा नियमितरुपमा विमानको ए, बी, सी, थ्री सी र डी चेक हुन्छ । बुधवार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान सी चेकका लागि पोखरा लगिँदै गरेको भनिएको छ ।

सी चेक भन्नाले विमानले नियमित मर्मत, परीक्षण, पार्टपुर्जा आदि परिवर्तन गर्ने समय हो । विमानमा कुनै खराबी नदेखिएको भएपनि प्रत्येक १८ देखि २४ महिना वा बम्बार्डियन विमानको सिआरजे दुई सय सिरिजमा प्रत्येक ८ हजार घण्टाको उडानपछि सी चेक गर्नुपर्ने हुन्छ ।

सी चेक भनेको विमानको पूर्ण मर्मत र परीक्षण हो, जहाँ विमानका धेरै पार्टपुर्जा फेरिन्छ र आवश्यकता अनुसार इञ्जिनको ओभरहल गरिन्छ । त्यही प्रयोजनका लागि प्राविधिकसहितको टोली लिएर सौर्यको उक्त जहाज पोखरा जाँदै थियो । प्राविधिकसँगै प्राविधिकका परिवारका सदस्यसमेत विमानमा रहेको बुझिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, सी–चेकमा जहाज लैजानुको मतलब उडानयोग्य नहुँदापनि उडाइएको भन्ने होइन । सी–चेक भनेको जहाज बिग्रिएर गर्ने मर्मत पनि होइन । उडानयोग्य अवस्थामा पनि जहाजको नियमित परीक्षण गर्ने गरिन्छ । जहाजमा कुनै अदृश्य कमजोरीहरू समेत हुन सक्ने भएकाले उडानयोग्य अवस्थामा पनि जहाजको नियमित परीक्षण गर्ने गरिन्छ ।

दुर्घटनामा परेको जहाज क्यानेडियन कम्पनी बम्बार्डियरले निर्माण गरेको हो । नेपालमा बम्बार्डियरको जहाजबाट अहिले सौर्य एयरलाइन्स र श्री एयरलाइन्सले उडान गर्दै आएका छन् ।

यो कम्पनीको सीआरजे २०० जहाज नेपालमा पहिलोपटक ठुलो दुर्घटनामा परेको हो ।

एभिएसन सेफ्टी नेटवर्कको रेकर्डअनुसार सन् २०१८ र २०१९ मा सीआरजे २०० सामान्य दुर्घटनामा परेको भएपनि मानवीय क्षति नै हुने गरी दुर्घटना भएको भने यो नै पहिलोपटक हो । क्यानेडियन कम्पनी बम्बार्डियरले सन् २००३ मा नाइन एन एएमई जहाज उत्पादन गरेको थियो । यसमा २ वटा जेट इन्जिन छन् ।

प्राधिकरणका अनुसार, प्राधिकरणले गत वैशाख १४ गते १ वर्षको लागि जहाज उडानको अनुमति दिएको थियो । वैशाख १४ गतेसम्म सो जहाजले २८ हजार ७८५ घण्टा ५७ मिनेट उडान भरेको तथ्यांक छ ।

सन् २०१८ सेप्टेम्बर १७ मा काठमाडौंबाट विराटनगर उडानको क्रममा आज दुर्घटनामा परेको यो जहाज चरासँग ठोक्किएको थियो । चालक दलसहित ५२ सवार जहाजमा त्यतिबेला सबै सकुशल थिए । जहाज विराटनगर पुगेपछि मात्रै चरा ठोक्किएको जानकारी पाइएको थियो ।

सन् २०१९ नोभेम्बर ८ मा बम्बार्डियरकै श्री एयरलाइन्सको जहाज पार्किङको समयमा यति एयरलाइन्सको पङ्खासँग ठोक्किएको थियो । त्यतिबेला पनि कुनै मानवीय दुर्घटना भएको थिएन ।

जहाज उत्पादक कम्पनीले सीआरजे २०० को पहिलो उडान सन् १९९५ मा सुरु गरेको थियो । विश्वभर हालसम्म कम्पनीका यस सिरिजका ७९ वटा जहाज दुर्घटनामा परेका छन् ।

गृहमन्त्री रमेश लेखकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका विषयमा सरकारले छानबिन गर्ने बताएका छन् । जहाज दुर्घटनाको स्थलगत अवलोकनपछि गृहमन्त्री लेखकले दुर्घटनाका विषयमा सरकारले छानबिन गर्ने बताएका हुन् । ‘यो दुर्घटना हो । जे भयो, दुःखद भएको छ । जहाजमा रहेका १९ जनामध्ये १८ जनाको निधन भएको छ, मृतक सबै सौर्य एयरलाइन्ससँगै आबद्धहरू भएको कुरा आएको छ,’ गृहमन्त्री लेखकले भने, ‘दुर्घटनापछि तत्कालै गर्नुपर्ने उद्धारको काम सरकारले पूरा गरेको छ । अब के कारणले यस्तो दुर्घटना भयो भन्नेबारे छानबिन गर्छ ।’ उनले छानबिनबाट प्राप्त तथ्यहरूले नै जहाज दुर्घटनाको पछिका अन्य कुराहरू खुलाउने बताए ।

दुर्घटनास्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दुर्घटना किन भयो ? कसरी भयो ? भन्ने कुराको अध्ययन गरिने बताएका छन् । अध्ययन गरिसकेपछि दुर्घटना नहुनेतर्फ ठोस कदम चाल्नुपर्ने उनको भनाइ छ । ‘हवाइ दुर्घटना न्यूनीकरणका लागि नीतिगत, कानुनी, प्राविधिक र जनशक्ति लगायतका कुरामा ठोस रूपले सरकारले काम गर्छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?