राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बाइडेनद्वारा राष्ट्रका नाममा सम्बोधन

लोकपथ
133
Shares
फाइल तस्बिर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधबार राति राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा बाइडेनले जनतालाई आफ्नो निर्णयबारे जानकारी गराउँदै नयाँ पुस्तालाई अघि बढाउन अपिल गरे । राष्ट्रपति बाइडेनले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान उपराष्ट्रपति तथा राष्ट्रपतिकी नयाँ उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्न आग्रह गरे ।

ओभल अफिसबाट राष्ट्रका नाममा गरेको सम्बोधनमा बाइडेनले देशमा नयाँ सोच र नयाँ आवाजको लागि ठाउँ रहेको बताए । यस क्रममा उनले भने, ‘लामो समयको अनुभवको आफ्नै महत्व छ, तर साथमा नयाँ आवाज, ताजा आवाज र युवा आवाजको पनि आफ्नै समय र स्थान छ । आफ्नो पार्टीलाई एकताबद्ध गर ।’

बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन आफू सबैभन्दा राम्रो उम्मेदवार भएको हप्तौंदेखि जोड दिइरहेका थिए । तर, अचानक उनले दौडबाट पछि हटेको घोषणा गरेका हुन् । यस्तो अवस्थामा, यस भाषणको माध्यमबाट, बाइडेनले पहिलो पटक जनतालाई प्रत्यक्ष सम्बोधन गरेर आफ्नो निर्णयको कारण बताए ।

बाइडेनको यो सम्बोधनमा सारा विश्वको नजर अडिएको थियो । उनी कोभिड संक्रमणबाट निको भएर एक दिनअघि नै ह्वाइट हाउस फर्किएका थिए । यसअघि पूर्व राष्ट्रपति र रिपब्लिकन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमण भएको एक दिनपछि बाइडेनले राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो समर्थन उल्लेख गर्दै आफ्नो भाषणको अन्त्य गरेका थिए । उनले भने, ‘म हाम्रा महान उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिन चाहन्छु । उहाँ अनुभवी हुनुहुन्छ । उहाँ दृढ हुनुहुन्छ । उहाँ सक्षम हुनुहुन्छ । उहाँ मेरो लागि एक अद्भुत साझेदार र हाम्रो देशको लागि एक नेता हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?