कांग्रेस–एमालेबीच राजदूत भागबण्डामा सहमति, भारत कांग्रेस र अमेरिका–चीन एमालेको भागमा

लोकपथ
5.2k
Shares

काठमाडौं । नेपाली कांगे्रस र एमाले राजदूत नियुक्तिमा समझदारी कायम गर्न सफल भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको दुई सातामै प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राजदूत नियुक्तिमा सहमति बनेको हो ।

स्रोतका अनुसार, दुई वटा छिमेकी मुलुकमध्ये एमालेले चीन र कांग्रेसले भारतमा राजदूत सिफारिस गर्ने सहमति बनेको छ ।
समाचार स्रोतका अनुसार भारतका लागि राजदूतमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी र चीनका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिश गर्ने सरकारको तयारी छ । पूर्वमुख्यसचिवसमेत रहेका बैरागी संविधानले नचिनेको राष्ट्रिय सुरक्षा सल्लाहकार हुन् भने रेग्मी पनि पूर्वमुख्यसचिव हुन् ।

सहमतिअनुसार एमालेले चीनका अलावा अमेरिका, बेलायत र रुसमा राजदूत सिफारिस गर्नेछ । यस्तै, कांग्रेसले भारतका अलावा जापान, अस्ट्रेलिया र मलेसियामा राजदूत सिफारिस गर्ने सहमति बनेको छ । यी दुई दलबीच अन्य देशमा पनि राजदूत सिफारिस गर्ने सहमति भएको छ । सहमतिअनुसार, एमाले भन्दा कांग्रेसले एउटा राजदूत पद बढी लिने भएको छ ।

चीनमा अहिले माओवादी केन्द्रको सिफारिसमा गएका विष्णुपुकार श्रेष्ठ राजदूत रहेकोमा उनलाई नयाँ राजदूत सिफारिस हुनुअघि नै फिर्ता बोलाउने सरकारको तयारी छ । त्यस्तै रुसमा राजदूत रहेका मिलनराज तुलाधरलाई पनि फिर्ता बोलाइने छ । उनलाई एकीकृत समाजवादी पार्टीको सिफारिसमा पठाइएको थियो । एकीकृत समाजवादी अहिलेको प्रतिपक्षी दल हो । अब एकीकृत समाजवादीको सिफारिसमा राजदूत बनाएर अष्ट्रेलिया पठाइएका कैलाशराज पोखरेललाई पनि फिर्ता बोलाइने छ ।

भारत, अमेरिका र बेलायतस्थित राजदूतहरूलाई भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसअघि नै फिर्ता बोलाइसकेको छ । दाहाल नेतृत्वको सरकारले यसअघि विभिन्न ८ देशमा राजदूत सिफारिश गर्ने निर्णय गरेकोमा सरकार परिवर्तनसँगै अलपत्र परेको छ ।

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मालाई अघिल्लो सरकारले फिर्ता बोलाउने निर्णय गरेपनि नयाँ सरकार बनेपछि परराष्ट्र मन्त्रालयले उनलाई एक महिनाका लागि थमौती गरेको थियो । शर्मा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा निकट मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?