इजराइली सेनाद्वारा गाजामा बन्धक बनाइएका पाँच जनाको शव फेला

लोकपथ
637
Shares

जेरुसलम । इजराइली सेनाले बिहीबार अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको बताएको छ ।

सेनाले बन्धक बनाइएका माया गोरेनका साथै सैनिकहरू रविद आर्ये काट्ज, ओरेन गोल्डिन, तोमर अहिमास र किरिल ब्रोडस्कीको शव इजरायललाई फिर्ता गरिएको जनाएको छ ।

गाजा पट्टीको मुख्य सहर खान युनिसमा अपरेसनका क्रममा ती शव बुधबार बरामद गरिएको सेनाको भनाइ छ । सेनाले अक्टोबर ७ मा हमास लडाकूहरूले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ ।

डिसेम्बरमा सेनाले गोरेनको मृत्यु भएको घोषणा गरेको थियो । उनलाई अक्टोबर ७ मा अपहरण गरी गाजा लगिएको थियो ।
दुई इजरायली किबुत्ज, निर ओज र निर यित्ज्याकको फरक फरक बयानमा सेनाले गोरेन र गोल्डिनको शव बरामद गरिएको बताएपछि बिहीबार उक्त घोषणा आएको हो । किबुत्ज निर ओजले भने, ‘हिजो राति सेनाको उद्धार कार्यमा दिवंगत माया गोरेनको शव फेला परेको हामीलाई सूचित गरिएको थियो ।’

उनले गोरेनको परिवारलाई सूचित गरिएको र थप जानकारी दिइने बताए । पछि अर्को छुट्टै बयानमा किबुत्ज निर यित्ज्याकले सेनाले गोल्डिनको शव फिर्ता गरेको बताए । ‘आज साँझ किबुत्ज आपतकालीन टिमका सदस्य दिवंगत ओरेन गोल्डिनको उद्धार कार्यबारे हामीलाई सूचित गरिएको थियो, उनी अक्टोबर ७ मा हमास लडाकूहरूको आक्रमणमा मारिएका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?