संसदीय समितिमा प्रश्न : सी–चेकको लागि उडेको विमानमा बच्चासहितका बाहिरी व्यक्तिहरू कसरी परे ?

लोकपथ
1.4k
Shares

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटना र बाहिरी व्यक्तिहरूको सहभागिताका विषयमा संसदको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा समेत कुरा उठेको छ ।

पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले नियामक निकाय नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक ई-प्रदीप अधिकारीलाई यो विषयमा जिज्ञासा राखेका हुन् । उनले नियमित चेकजाँच (सी–चेक) मा जान लागेको सौर्य एयरलाइन्सको दुर्घटनामा बच्चासहितका बाहिरी व्यक्तिहरू कसरी परे भन्दै जिज्ञासा राखेका थिए ।

तर महानिर्देशक अधिकारीले भने यो जिज्ञासाको जवाफ दिएनन् । उनले घटनाको सम्बन्धमा छानबिन आयोग बनिसकेको अवस्थामा प्राविधिक पक्षको बारेमा आफूले बोल्न उचित नहुने जवाफ फर्काए । ‘घटना घटिसकेको छ, सरकारले ५ सदस्यीय छानबिन आयोग गठन गरिसकेको छ । यसमा हामी सबै (प्राधिकरणसमेत) अनुसन्धानको दायरामा छौँ । आयोगले सत्य तथ्य छानबिन गर्ला । यस विषयमा मैले बोल्न उचित हुँदैन,’ अधिकारीले भने ।

प्राधिकरणका प्राविधिक मुकुल मिश्रले भने बुधवारको सौर्य फ्लाइट ‘फेरि फ्लाइट’ नै भए पनि कम्पनी फ्लाइटको रूपमा रहेकाले यसलाई सामान्य मानिने बताए । ‘अन्तर्राष्ट्रिय हवाई नियमअनुसार कम्पनीले फ्लाइट गर्न पाउँछ । सौर्य एयरलाइन्सको पनि यही हो, स्वीकृति र अरू प्राविधिक पक्षको मुद्दामा छानबिन आयोगले स्पष्ट छानबिन गर्ला नै,’ उनले भने ।

काठमाडौंबाट पोखरा उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रनवे नजिकै दुर्घटनामा पर्दा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेनको सकुशल उद्धार गरिएको थियो । दुर्घटनामा एक नाबालकको पनि मृत्युृ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?