चलचित्र विकास बोर्डबाट दुई वर्षको कार्य काल सकेर बिदा भए भुवन केसी

लोकपथ
119
Shares
फाइल तस्बिर

काठमाडौं । चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष तथा अभिनेता भुवन केसीले सिनेमा क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन् । बिहीबार आफ्नै बिदाइ कार्यक्रममा बोल्दै केसीले सरकार चलचित्र क्षेत्रप्रति गम्भीर हुनुपर्ने बताए ।

उनले भने, ‘नेपाली चलचित्र यहाँसम्म आइपुग्दा सरकारले चाँही के गर्यो त ? नेपाली चलचित्र क्षेत्रले यहाँसम्म आइपुग्नुको योगदान सरकारको योगदान सून्यजस्तो लाग्छ । चलचित्र क्षेत्र यहाँसम्म आइपुग्नुलाई सरकारको महत्व प्रभावकारी छैन । यदि सरकारले चाहेको भए चलचित्र क्षेत्र आज विदेशिसँग प्रतिस्पर्धा गर्न सक्थ्यौं, अहिले पनि गरिरहेका छौँ । तर त्यसका लागि केही निर्माता, कलाकार, निर्देशकहरुले घरखेत बेचेर यहाँसम्म ल्याएका हुन् ।’

साथै उनले सरकारले आश्वासन मात्र दिएको गुनासो गरे । उनले नेपाली चलचित्रको लागि नेताहरूले भाषण बाहेक केही गर्न नसकेको बताए ।

उनले  भने, ‘एउटा स्टुडियो बनाउन सकेको छैन् । तर सबै कलाकारहरूले मन्त्रीहरूलाई सुझाव सल्लाह दिएका हौँ । तर त्यो कुरा कुनै मन्त्रीले उठाउन सकेनन् ।’

यस्तै केसीले कुनै स्वार्थमा अध्यक्ष नबनेको दाबी गरे । उनले अबको दिनमा जे–जस्तो अवस्थामा भएपनि नेपाली चलचित्रलाई अगाडि बढाउन सँधैं तत्पर रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?