अस्ताए ‘कान्छी मट्याङ ट्याङ’का गायक जोशी

लोकपथ
119
Shares

झापा । नेपाली लोकसंगीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । दमक–१ स्थित आफ्नै निवासमा बिहीबार साँझ बेहोस भएका उनको उपचारका क्रममा निधन भएको हो ।

१९९३ सालमा धनकुटा बजारमा जन्मिएका गायक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो । उनले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ लगायत दर्जनौँ कालजयी गीत गाएका थिए ।

पूर्वेली लोकभाकामा उनी गीत गाउँथे ।

‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालमा रेकर्ड भएको थियो । उनी चित्रकार र अभिनेता पनि थिए ।

चलचित्र ‘हिजो आज भोलि’मा उनले नायिका भुवन चन्दसँग नायकको भूमिकामा अभिनय गरेका थिए । उनले नौवटा चलचित्रमा अभिनय गरेका थिए ।

२०१३ सालमा उनको पहिलो गीत ‘नेपालको माया…’ रेडियो नेपालमा रेकर्ड भएको थियो । नेपाली मौलिक गीतहरुको खोजमा मुलुकका सयौँ गाउँबेँसीहरु घुमेका र नेपाली लोकसंगतको भण्डारलाई समृद्ध बनाउन योगदान पुर्‍याएका उनलाई देशभित्र र प्रवासमा सयौँ पुरस्कार प्राप्त भएको थियो । २०५३ सालमा म्युजिक नेपालबाट उनको ‘रिटिङ रिटिङ’ नामक एकल गीति एल्बम बजारमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?