कोशी प्रदेश सरकारबाट आज माओवादीका मन्त्रीहरुले राजीनामा दिँदै

लोकपथ
112
Shares

काठमाडौं । कोशी प्रदेश सरकारबाट बाहिरिन नेकपा (माओवादी केन्द्र) ले गृहकार्य थालेको छ । आज शुक्रबार नै बाहिरिने गरी उसले गृहकार्य अघि बढाएको हो । एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीका एक जना राज्यमन्त्रीसहित चार मन्त्री छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छन् ।

यस्तै वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री छन् । अन्य प्रदेशमा माओवादी सरकारबाट बाहिरी सक्दा पनि कोशीमा ढिलाइ हुनुमा मुख्यमन्त्री हिक्मतबहादुर कार्कीकै आग्रह रहेको माओवादी नेताहरुको भनाइ रहेको छ । कोशी सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा (एमाले)बीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादीले सरकार छाड्न लागेको हो ।

कोशी सरकारका वन तथा पर्यटनमन्त्री नारायण बुर्जा मगरले पछिल्ला केही दिनमा भने मुख्यमन्त्री कार्कीले सरकारबाट बाहिरिँदा राम्रो भन्ने सुझाव दिएको बताए । ‘मुख्यमन्त्रीले नै अब बाटो खुला गरिदिनूस् भनेपछि गर्नैप¥यो,’ उनले भने, ‘मुख्यमन्त्रीले दलको नेतामार्फत् यस्तो सन्देश पठाउनुभएको छ, त्यसैले आज दिउँसो बैठक बसेर निर्णय गर्नेछौं ।’ माओवादीले कोशी सरकार छाड्ने निर्णय लिएपछि कांग्रेसको प्रदेश सरकार प्रवेशको बाटो खुल्नेछ । उता, सत्ता गठबन्धनका नयाँ सहयात्रीहरू कांग्रेस र एमालेबीच मुख्यमन्त्रीमा आलोपालोको समयसीमा तोक्न, मन्त्रालय र संवैधानिक नियुक्तिहरूको भागबन्डा लगाउन अनौपचारिक रुपमा छलफल अघि बढेको छ ।

यसका लािग मुख्यमन्त्री कार्की शीर्ष नेताहरुलाई भेट्न आज काठमाडौं जाने तयारीमा छन् । मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार माओवादी मन्त्रीहरूको राजीनामा बुझेर स्वीकृत गरेपछि मुख्यमन्त्री कार्की कांग्रेससँग छलफलका लागि काठमाडौं जानेछन् । संविधानको धारा १६८(५) अन्तर्गत एमाले र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?