सन्दीपविरुद्ध सर्वोच्च नजान निवेदन दिँदै गौशाला २६ ले भनिन्, ‘अरूले खेल्ने मौका पाए’

लोकपथ
2.9k
Shares
फाइल तस्बिर

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन पीडित गौशाला २६ ले निवेदन दिएकी छिन् । पीडितले गत साउन ८ गते उच्च सरकारी वकिल कार्यालय, पाटनमा निवेदन दिएकी हुन् ।

उच्च सरकारी वकिल कार्यालय, पाटनका अनुसार पीडित गौशाला २६ ले साउन ८ गते नै निवेदन दिएर पुनरावेदन नगरिदिन अनुरोध गरेकी हुन् । आफ्नो सक्कल नागरिकता नै पेस गरी गौशाला २६ ले आफू उच्च अदालतको फैसलाबाट सन्तुष्ट रहेको बताएकी छिन् । उच्च सरकारी वकिल स्रोतका अनुसार पीडित गौशाला २६ ले आफ्नो निवेदनमा आफू यस प्रकरणबाट मानसिक समस्या भोगिरहेको कारण यस विषयमा थप अगाडि बढ्न नचाहेको उल्लेख गरेकी छिन् ।

आफ्नो प्रकरणबाट क्रिकेटर सन्दीप लामिछाने र आफूले धेरै दुख पाएको भन्दै उनले यो घटनाबाट अरूहरूले खेल्ने मौका पाएको निवेदनमा उल्लेख छ । यो प्रकरणले आफूलाई सामाजिक रूपमा समेत अप्ठेरो पारेको र घटना बिर्सन चाहेको उनको निवेदनमा उल्लेख छ । साथै निवेदनमा क्रिकेटर सन्दीप र आफूले पनि सुरुदेखि नै धेरै दबाब झेल्नुपरेकाले अब आफू यस प्रकरणबाट बाहिर निस्कन चाहेको उल्लेख छ ।

क्रिकेटर सन्दीप लामिछाने जोडिएको जबरजस्ती करणीको मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ७ वर्ष जेल सजाय सुनाएको थियो । तर उच्च अदालत पाटनले गत जेठ २ गते फैसला सुनाउँदै जबरजस्ती करणीको कुनै सङ्केत नदेखिएको भन्दै सफाइ दिएको थियो । त्यसको पूर्णपाठ केही दिनअघि मात्रै सार्वजनिक भएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले सुनाएको फैसलाको पूर्णपाठ मङ्गलवार मात्रै उच्च सरकारी वकिलको कार्यालयमा पुगेको थियो । सोही दिन गौशाला २६ ले निवेदन दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?