संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि जुट्यो सैद्धान्तिक सहमति, सोमबार सरोकारवालासँग छलफल

लोकपथ
49
Shares

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ । शुक्रबार विहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको थियो ।

संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा छन् । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा संयन्त्रका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताए । ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएको छौं । यस विषयमा सोमबार सरोकारवालासँग छलफल गरौं । त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिम रुप दिने कुरा भएको छ,’ उनले भने ।

यस्तै नेकपा एमालेका मुख्य सचेतक बर्तौलाले पनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषयमा आगामी सोमबार सरोकारवालासँग राय लिएर अन्तिम रुप दिने गरी आजको बैठक सकिएको बताए । ‘हामी यो विषयलाई अन्तिम रुप दिँदैछौं, फाइनल गर्नको लागि केही रायहरु पनि सोमबारसम्म लिन्छौं । परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछ,’ उनले भने । पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने बर्तौलाले बताए । अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई बुझाइने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?