टानको अध्यक्ष पदमा दामोदर ढकालले गरे उम्मेदवारीको घोषणा

लोकपथ
1.3k
Shares

काठमाडौं । ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षका लागि दामोदर ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । मिसन नेपाल होलिडेजका प्रबन्ध निर्देशक ढकालले आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

ढकालले बिहीबार सामाजिक सञ्जालमार्फत आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ढकालले आफू समावेशी टिम बनाएर निर्वाचनमा होमिने बताएका हुन् ।

ढकालले भनेका छन्, ‘यहाँहरू माझ टानको वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम आउँदै छ । टानको २०१९– २०२२ कार्यकालमा सचिव पदमा रहेर काम गर्ने मौका दिनु भएकोमा यहाँहरूमा नमन । यस पटक यहाँहरूको दरिलो साथमा संस्थाको जिम्मेवारीलाई उचाइ दिन अध्यक्षको पदमा पूर्ण समावेशी व्यावसायिक टिम सहित उम्मेदवार रहने कुरा जानकारी गराउँदछु । यहाँहरूको साथमा रहेर यहाँहरूकै ईस्यु र एजेन्डा बोकेर यहाँहरूकै खबरदारीमा आगामी टान नेतृत्व अगाडी बढ्नेछ, विश्वास दिलाउन चाहन्छु । यहाँहरूको सुझावको आधारमा हाम्रो टिमको प्रतिबद्धता तयार गरेर छिट्टै सार्वजनिक गर्नेछु ।’

यस्तो छ ढकालको फेसबुक स्टाटस

ढकाल यसअघि सन् २०१९–२०२२ को कार्यसमितिमा सचिव पदमा रहेर काम गरिसकेका छन् । अघिल्लोपटक नेकपा एमालेको कोटाबाट सचिव बनेका ढकाल नेकपा एमालेनिकट पर्यटन व्यवसायी हुन् । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनमा आबद्ध रहेका ढकालले अध्यक्ष पदका लागि टिकट नपाएपछि विद्रोह गरेर नयाँ टिम बनाउन लागेका हुन् ।

एमालेनिकट सङ्गठनबाट राजेन्द्रप्रसाद सापकोटाले टानको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसअघि नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले सापकोटालाई सर्वसम्मतरुपमा अध्यक्ष पदमा उठाउने निर्णय गरेको थियो ।

टानको आगामी नेतृत्वका लागि आगामी सेप्टेम्बर महिनाको पहिलो साता निर्वाचन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?