काठमाडौं । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने युवकले गरेको निष्कर्षमा प्रहरी टोली पुगेको छ । उनको घरमा काम गर्दै आएका सर्लाहीको कविलासी नगरपालिका–३ स्थित मदनपुर घर भएका २१ वर्षीय रामउजैन राय यादवले हत्या गरेको स्वीकार गरिसकेको दाबी पनि प्रहरीले गरेको छ ।
पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ स्थित रतनपुरमा रहेको फार्म हाउसमा गत साउन ६ गते राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उनले घटना भएको रात आफूले नचिनेको तीन जना व्यक्ति आएको, उनीहरुले जग्गा कहिलेसम्म आफूहरुले पाउने भनी सोधेको सुनेको, कुराकानी भइरहँदा पूर्वराज्यमन्त्री रायले आफूलाई सुत्न भनी पठाएको, राति शौंच गर्न उठ्दा रगतले लतपतिएको अवस्थामा शव देखेको र राति नै ती तीन जना व्यक्ति फरार भएको’ प्रहरीसँग बताएका थिए । प्रहरीले उनको भनाइलाई नै आधार मानेर अनुसन्धान गरेको थियो ।
सहयोगी रामउजैनले भनेका कुरा पुष्टि हुन नसकेपछि प्रहरीले पछिल्ला दिनमा उनीमाथि नै अनुसन्धान केन्द्रित गरेको थियो । ‘अहिलेसम्मको सबुत प्रमाणले उनैले हत्या गरेको देखिन्छ, बयानमा पनि उनले हत्या गरेको स्वीकारिसकेका छन्,’ अनुसन्धानरत एक प्रहरी अधिकृतले भने ।
सहयोगी रामउजैनले पूर्वराज्यमन्त्री रायले धेरै बेरसम्म खुटा थिच्न भन्ने गरेको, काम गरिरहँदा पनि धेरै इरिटेट गर्ने र गाली गर्ने गरेकोले आफूले हत्या गरेको वयान दिएको प्रहरी स्रोतले बताएको छ । घटना भएको राति भनाभन नै भएको र आफूले सहन नसकी घरमा रहेको उखु काट्ने फुर्सा प्रहार गरी हत्या गरेको बताएको पनि प्रहरीको भनाइ छ ।
हत्या स्वीकार गरिसकेका रामउजैनले हिजो शनिबारदेखि भने ‘गाउँकै अर्को मान्छेले मार्न भनेको’ वयान दिएका छन् । ‘घटनामा अरूको पनि संलग्नता रहेको आशंका हाम्रो पनि रहेको छ, पोलियोग्राफ्र टेष्ट गरेपछि थप कुरा पत्ता लाग्छ,’ ती प्रहरी अधिकृतले भने, ‘भेटिएका सबुत प्रमाणको फरेन्सिक रिपोर्ट आइसकेपछि घटनामा संलग्नलाई सार्वजनिक गरिनेछ ।’
हत्यापछि सहयोगी रामउजैनले आफूले लगाएको गन्जी घर छेउमै फालेका थिए । हत्या गर्न प्रयोग भएको उखु काट्ने फर्सा भने घरबाट ५० मिटरको दुरीमा झाडीमा फालेका थिए ।भट्टीबाट इँटा ओसार्ने काम गर्दै आएका रामउजैन तीन महिना अघिमात्रै रायको काठमाडौंस्थित घरमा काम गर्न पुगेका थिए । तर त्यहाँ उनको गतिविधि राम्रो नभएको भन्दै फेरि गाउँमा फर्काइएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले करिब डेढ महिनादेखि उनले रतनपुरस्थित पूर्व राज्यमन्त्री रायको खेतमा काम गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया