नयनसँग नुवाकोटको नबिर्सने यात्रा

लोकपथ
420
Shares

काठमाडाैं । असार–१५ यो शब्द नै आफैँमा महत्वपूर्ण छ । शब्द सुन्दा नै भित्रैबाट एउटा नयाँ उत्साह, उमंग, जोस, जाँगर जागेर आँउछ ।

असार पन्ध्रका आफ्नैै खाले थुप्रै विशेषता छन् । कृषकहरुले ‘मानो रोपेर मुरी फलाउने दिन’, हर्ष, उमंगले श्रममा जोडिने दिन, दहि चिउरा खाने दिन, रोपाइँ जात्रा गर्ने दिन आदिआदि । परापूर्व कालमा किसानहरुले कामको चटारोले अरु खाना बनाउन नभ्याउँदा तयारी खानाको रुपमा घरमा भएको दही चिउराले पेट भरेर मेलामा काम गर्ने प्रचलनबाट स्थापित परम्परा अहिले दहि चिउरा खाने पर्व, उत्सव, चाडको रुपमा स्थापित भएको छ । पछिल्लो समय असार पन्ध्रलाई कतै धान दिवस, कतै रोपाइँ जात्राको रुपमा पनि धुमधामले मनाइन्छ । जे होस् देशभर किसानदेखि गैरकिसानले पनि दही चिउरा खाने र सरकारी रकम खर्च गरेर भए पनि रोपाइँ जात्रा मनाउने चलन निकै फस्टाएको छ आजभोली । यसैदिन नुवाकोट साहित्य प्रतिष्ठानले आफ्नो १७औँ वार्षिक उत्सवको अवसरमा स्रष्टा सम्मान तथा साहित्यिक गोष्ठी आयोजना गरेको रहेछ । कार्यक्रमका प्रमुख अतिथि सुप्रसिद्ध साहित्यकार नयनराज पाण्डे हुनु हुँदो रहेछ । उहाँसँगै नुवाकोटको यात्रा गर्न पाउने अवसरको सूचनाले मन अघिल्लै दिन देखि निकै प्रफुलित थियो ।

विषयको प्रसंग केहि अलि अगाडि देखि उठान गरौँ । कार्तिक तिरको कुरा हो । एउटा अपरिचित नम्वरबाट फोन आयो । मैले फोन उठाएँ, उताबाट सर हजुर सुवाश जमरकट्टेल बोल्नु भएको हो ? मैले हो भनेर उत्तर दिएँ र सँगै हजुर को बोल्नु भो भनेर प्रतिप्रश्न गरेँ । म नुवाकोट साहित्य प्रतिष्ठानको अध्यक्ष विष्णु सापकोटा बोल्दै छु भन्नु भयो । म अलि संयमित भएँ । अहो ! साहित्यिक प्रतिष्ठानको अध्यक्षले किन फोन गर्नु भयो होला ? मनमा तरङ्गहरु तरङ्गित भए । उहाँले मसँग छोटो कुरा गर्दै मेरो बायोडाटा माग्नु भयोे । मैले इमेलमा पठाई दिने बाचा गरेँ । बेलुका घर पुगेर पठाई दिएँ । भोलीपल्ट फेरी फोन गर्नु भयो र तपाईँले लेखन सम्पादन गरेका केही पुस्तकहरु उपलब्ध गराई दिनुन भन्नु भयो । मैले कुरियर गरेर पठाई दिएँ । त्यसपछि हाम्रो सम्पर्क भएन । के को लागि हो त्यो पनि थाहा भएन । केहि दिन मनमा कोैतुहलता जागिरह्यो । ‘नौ दिनमा नौलो बिस दिनमा बिर्सियो तिस दिनमा तर्सियो’ भने झैँ मैले बिर्सिसकेको थिएँ । अचानक असार ९ गते उही नम्बरबाट फोन आयो । फोन उठाउने बित्तिकै उताबाट बधाई छ सर भन्नुभयो । म अलमलमा परेँ । पछि उहाँले नै सविस्तार बताउनु भयो । म महामण्डल युवा सम्मान २०८० बाट सम्मानित हुने कुराले टेकेको धर्ति नै उचालिएर शिखरमा पुगेको अनुभुति गरेँ र धन्यवाद दिएँ । अझ प्रमुख अतिथि सुप्रसिद्ध आख्यानकार नयनराज पाण्डे सर हुनुहुन्छ भन्ने जानकारी समेत प्राप्त भयो । कार्यक्रमको दिन तपाईँ उहाँसँगै आउनु होला भन्ने निमन्त्रणाले अझ पुल्कित भएँ । फेरी हाम्रो १४ गते पनि संवाद भयो । म पनि हजुरहरुलाई लिन काठमाडौं नै आएको छु । भोली एउटै गाडीमासँगै जाउला भन्नु भयो । अब झन उत्साहको सीमा नै रहेन ।

१५ गते बिहान मलाई लिन गाडी भक्तपुर स्थित म बसेकै स्थानमा टुप्लुक्क आइपुग्यो । घरबाट यात्रा सुरु भयो । बालाजु चोकमा अध्यक्ष ज्यूसँग भेटघाट र चिनजान भयो । मृदुभाषी, सरल र मिजासिलो स्वभाव पहिलो भेट मै बर्षौं अघि छुटेको आत्मिय मित्र बर्षौं पछि भेटेझैँ अनुभुत भयो । माछापोखरी चोकबाट दुई जना सरहरु थपिनुभयो । सामाखुसी चोकबाट अर्को सर थपिनु भयो । त्यहाँबाट हामी बसुन्धारास्थित नयनराज सरको घर छेउमा पुगेर उहाँलाई रिसिभ गर्यौं । नयनराज सरलाई देख्ने वित्तिकै उहाँको उपन्यास ‘सल्लिपिर’ र मैले बच्चा बेलामा बाख्राबस्तु चराउदैँ जम्मा पारेको सल्लिपिर एकै पटक सम्झेँ । हामी त्यहाँबाट टोखातिर लाग्यौँ । ग्राण्डी हस्पिटल नजिकबाट साहित्यकार दिनेश पाण्डे थपिनु भयो । अब भने गाडिका सिट फुल भए । अध्यक्षज्यूले अब हामी फटाफट लागौँ भन्नु भएपछि अनुमान लगाएँ आजको यात्रामा हामी यति नै रहेछौँ । हामीले गाडी भित्रै सामान्य परिचय गर्यौं । उहाँहरु लगभग चिरपरिचित नै हुनुहुँदोरहेछ । नयनराज सरको जन्म स्थान काठमाडौं भए पनि बुढामावली नुवाकोट नै भएको रहस्य खुल्यो । हाँसो, ठट्टा र रमाईलो वातावरणमा हाम्रो यात्रा अगाडि बढ्यो । शिवपुरीको जङ्गल सुरु हुने बित्तिकै झ्याउँ किरीले हामीलाई स्वागत गर्दै विरही भाकामा जङ्गल नै संगितमय बनाउँदै थियो ।


जब हामी काठमाडौंलाई छोडेर नुवाकोट तिर लाग्यौँ । डाँडाबाट हेर्दा नुवाकोट साँच्चै सुन्दर देखिएको थियो । गायककार नारायण गोपालको ‘पानी परे पछिको आकाश खुले झैँ, मुसुक्क हाँसी देउ फुल फुले झैं ।’ गीतले भने झैँ वास्तवमै नुवाकोटको पहाडी भू–बनोट, हरियाली डाँडाकाँडा साच्चै मनमोहक देखिन्थ्यो । चाँदीझैँ सेताम्य कुहिरोका थुम्का र विभिन्न आकृतिहरु पर्यटकको स्वागतार्थ खडा भएका पञ्चकन्या झैँ देखिन्थे । सुन्दरताको आँचल बिच्छाएर हाम्रो स्वागत गरि रहेको यो प्राकृतिक सौन्दर्यको बयान गरेर साध्य छैन । डाँडाबाट ओरालो लाग्दैगर्दा प्राकृतिक सौन्दर्यमा लोभिएर यात्रीहरु आफ्नो साधन रोकी फोटो खिच्ने, सेल्फी लिने, टिकटक बनाउनेहरुको लाइन देखिन्थ्यो । हामी भने गन्तब्यमा पुग्ने हतारोले यो अवसरबाट बञ्चित भयौँ ।

अध्यक्षज्यूको आग्रह र बैरागी जेठाको आज्ञाले मिठो चियामा खाना खाएर जाने सल्लाह भयो । सोही कार्यक्रमका अर्का सम्मानित स्रष्टा साहित्यकार टेकनाथ दाहाल पनि हामी भन्दा अघि अघि आफ्नै बाहानमा हुनु हुँदो रहेछ । उहाँलाई पनि मिठो चियामा भेट्ने र सँगै खाना खाएर जाने सल्लाह भयो । मलाई भने अनौठो लागि रहेको थियो । ठाँउको नाम होकी के हो यो मिठो चिया ? मिठो चियामा कस्तो खाना खाने ? पछि थाहा भयो त्यस ठाँउमा पहिला मिठो चिया नामको होटेल रहेछ । पछि त्यस ठाँउको नाम नै मिठो चिया रहन गएछ ।

पुर्ववत सल्लाह अनुसार दाहाल सर हामीलाई पर्खिएर बस्नु भएछ । हामी पुग्यौं, चिनजान भयो । खाना पनि उहाँले नै अडर गर्नु भएको रहेछ । बाटो माथि कृषि फाम, गाई गोठ बाटो मुनि अर्गानिक होटेल, होटेल मुनि मार्सि धाम झुल्ने फाँटिलो खेत । नखाई बस्दा मात्र पनि अघाईने ठाँउ रहेछ । होटेलको खाना साँच्चीकै अर्गानिक थियो । बटुका भरि दहि, ग्लास भरि मोही घ्यु थपि थपि खान पाईने । यस्तो लाग्थ्यो ससुरालीमा नयाँ ज्वाईहरु भोजन गर्दै छन् सासुआमा र सालीहरु सेवामा तल्लिन छन् । खाना खाएर हामी कत्ति पनि ढिला नगरी गन्तब्यतिर लाग्यौँ । बाटोमा विभिन्न किस्सा, विभिन्न कार्यक्रममा आयोजकले झेल्नु पर्ने समस्या, लम्बेतान अतिथिको आषणग्रहण, उच्च विशिष्ट अतिथिको पोष्ट सृजना गर्नुपर्ने बाध्यता, हाल पनि मुस्ताङ्गी राजाको राजसी ठाँट र रबैया सुन्न साँच्चीकै रोचक घटना परिघटनाहरु थिए । थान्सिङ पुग्दा बाटोमा दर्जनौँ सरकारी गाडी, सयौँ निजी कार र सयौँ मोटरसाइकलको लाईन थियो । अलि परतिर मान्छेहरुको भिडभाड देखियो । हामी त केहि अप्रिय घटना घट्यो की भनेर झसङ्ग भयौं । पछि बुझ्दा आज असार पन्ध्र धान रोप्न काठमाडौं र जिल्लाका विभिन्न ठाँउबाट जम्मा भएका खेतालाहरुको भिड रहेछ । नजिकैको एउटा अलि ठुलो खले गह्रामा धान दिवस मनाउने योजना रहेछ । हिलोमा डुबुल्की मार्न केहि युवा युवतीहरु अर्धनग्न जस्तो देखिने छोटाछोटा लुगा लगाएर चहलपहल गर्दै थिए । मनमनै सोचेँ खेतालाहरु पनि कति समृद्ध भई सके गाडी चढेर मेलोमा आउने । रमाईला गफले बाटो काटेको पत्तै भएन । हामी ११ बजे बटार बजार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको गेटमा पुग्यौँ ।

आज भोली कार्यक्रम गर्न निकै ग्राहो छ । दर्शक, स्रोताको रुपमा उपस्थित हुने महानुभावहरु पाउनै मुस्किल छ । आई हाले पनि ११ बजेको समय तोकी दियो भने १ बजे पछि उपस्थित हुने चलन छ । तर त्यहाँ त्यस्तो रहेनछ । निकै खुसि लाग्यो । हामी पुग्दा धेरै जना साहित्यकार तथा साहित्य प्रेमीहरु उपस्थित भई सक्नु भएको रहेछ । लगभग निर्धारित समयमै कार्यक्रम सुरु भयो । छोटो अतिथिको लिष्ट, भाषण गर्ने बक्ताहरुको लिष्ट शून्य पृथक थियो कार्यक्रम । कार्यक्रम सुरु हुँदै हाउस फुल थियो ।

कार्यक्रम समयावधीभर थपिनु भयो घट्नु भएन । छोटो मिठो रसिक उदघोषण कार्यक्रमको सौन्दर्य पक्ष हो । कार्यक्रमको मुख्य केन्द्रबिन्दु सम्मान कार्यक्रम चलिरहँदा हर्ष विभोर भएर हर्षासुले नयन भरिएका थिए । गलामा माला र दोसल्ला परेपछि थप जिम्मेवारीले बाँधिएको महसुस भयो । मन मनै नुवाकोटे भूमीले जन्माएका साहित्यकार र साहित्य प्रतिष्ठानलाई कोटीकोटी नमन तथा धन्यवाद व्यक्त गरेँ । नुवाकोट मै आफ्नो बाल्यकाल बिताएर काठमाडौलाई कर्म थलो बनाउनु भएको साहित्यकार डा. मञ्जुश्री श्रेष्ठलाई महामण्डल साहित्य सम्मान, मलाई महामण्डल युवा सम्मान २०८० र टेकनाथ दाहाललाई कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानबाट गरी हामी तिन जना सम्मानित भयौँ । कार्यक्रममा ३ पुस्ताले सृजना बाचन गर्नुभयो । अनौठो संयोग थियो । ९ वर्षका बालस्रष्टा देखि ७५ वर्ष माथि सम्मका रचना एकै आसनबाट सुन्न पाइयो । दिनेश पाण्डेको छन्द कविता, कृष्णदेवको गद्य कविता निकै रोचक र चोटिला थिए । कार्यक्रम अवधिभर श्रीराम श्रेष्ठको प्रसंशा सुन्दा लाग्थ्यो नुवाकोट साहित्य प्रतिष्ठान र श्रीराम श्रेष्ठ पर्यायवाची हुन् । सामाजिक सञ्जालमा परिचित स्वरकी धनि सुमित्रा सुमीलाई पनि प्रत्यक्ष सुन्न–भेट्न पाईयो । नुवाकोटको साहित्य श्रीबृद्धिमा उहाँको छुटै योगदान रहेछ ।

छोटो मिठो र महत्वपूर्ण कार्यक्रमको समापन पछि दही चिउरा र तरकारीको खाजाले स्वागत गर्नु भयो । मौलिक खाजाको स्वाद नै बेग्लै थियो । खाजा पस्चात केहिबेर फोटो सेसन चल्यो । अनि कोहि नुवाकोट दरवार हेर्न जानु भयो । हामी भने लोकपथ मिडियाका सञ्चालक बेलकोट निवासी रमेश जमकट्टेल पितृशोकमा पर्नु भएको हुनाले उहाँको घर सम्म गयौँ । भेटघाट गर्यौं र भावनात्मक दुख साटासाट गर्यौं । नयन सरलाई बेलकोटगढी घुमाउने तीव्र इच्छा थियो अध्यक्षज्यूको तर भौगोलिक विकटता र वर्षातले बाटो बिगारेका कारण त्यतिकै भयोे । रमेश जीको घरबाटै हामी फर्किने निधो गर्यौँ । तल तादी खोला गन्तव्यमा पुग्न हतारिएको यात्रीझैँ आफ्नै रफ्तारमा दौडिरहेको थियो । हामी भने देवीघाट, रानीको दरबार, रानीको खेत, रानीको बगैँचाको बर्णन सुन्दै थियौँ । कृष्णदेव सरले अचानक ठुलो घुम्ती कहाँनेर हो भन्नु भयो । ठुलो घुम्तिसँग जोडिएको उहाँको जीवनमा घटेको एउटा रोचक अनि हृदयस्पर्षी घटना रहेछ । कृष्ण सरले चिनेको ठुलो घुम्ति र बैरागी जेठाले चिनेको ढोल्पे खोला एउटै रहेछ ।

कृष्णदेव सर ढोल्पे खोलाबाट प्रहरी हिरासतमा परेको घटना बृतान्तले हाम्रो यात्रा काठमाडौं पुग्यो । देशमा १० वर्षे जनयुद्ध चलिरहेको समयमा आफू प्रहरी हिरासतमा परेको हृदयविदारक घटना उहाँले कलात्मक र फिल्मी शैलीमा वर्णन गर्दा हामी पेट मिचिमिचि हाँस्न बाध्य भयौँ । जेलमा भेटिएका श्रेष्ठ मामा, पहिला थर्काउने प्रहरीले विस्तारै माडसापलाई सिल्पिङ ब्याग दे भनेको घटना, बिहानै थप इन्क्वारीको लागि आएको प्रहरी जवान कुनै समय कृष्ण देवकै घरमा कोठा बस्ने कोठावाला केटो घटनाका जिवन्त पात्रहरु हुन् ।

नचाँहादा नचाँहादै हामी छुट्ने बेला भई सकेको थियो । नयन सरलाई हामीले लोकल खसिमा छोड्यौं । अचम्ममा पर्नु होला लोकल खसिमा छोड्यौं भन्दा बसुन्धारामा एउटा ठाँउ रहेछ जो लोकल खसिका नामले परिचित रहेछ । त्यहाँबाट आएर हामी नयाँ बसपार्कवारी माछापोखरी बाट सबैजना छुट्ने भन्यौँ र गाडी रोक्यौँ । हामी छुट्दै गर्दा सडक किनारमा भरखर जुट्दैँ गरेका युवायुवतीको कहाली लाग्दो दृष्य र सम्वादले युवायुवती कति धेरै कुलतमा फसिरहेका छन् भन्ने कुराको उजागर गरि रहेको थियो । यस पटकको असार पन्ध्र जीवनभर भुल्न चाहेर पनि भुल्न नसकिने अविस्मरणीय बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?