मन्त्री नियुक्त भएर पनि शपथ नै नखाई बाहिरिएका ‘अभागी’ तामाङ

लोकपथ
1.8k
Shares

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले चार दिनअघि मात्रै प्रभात तामाङलाई आर्थिक मामिलामन्त्री नियुक्त गरेका थिए । प्रभावशाली मन्त्रीमा नियुक्त भएकोमा उनलाई धेरैले बधाइ दिए । राम्रै मन्त्रालय पाउँदा उनी आफैँ पनि मख्ख थिए ।

तर उनको दुर्दशा, मन्त्री नियुक्त भएर पनि उनले शपथ लिन पाएनन् । मन्त्रीको खिचातानीमा अन्तिम समयमा उनको नाम नै हट्यो । अर्थात् नियुक्त भएर पनि उनी मन्त्री हुन पाएनन् ।

हो, बागमती प्रदेश सरकारमा ‘इन्ट्री’ हुनासाथ आफ्नै पार्टीको किचलो मिलाउन मुख्यमन्त्री लामालाई हम्मेहम्मे परेको छ । आफैँले नियुक्त गरेका मन्त्रीलाई शपथ नै नखुवाइ पदबाटै ‘आउट’ गर्नुपर्ने अवस्थासम्म उनी पुगेका छन् ।

बागमती सरकारको नेतृत्वमा पहिलोपटक पुगेको कांग्रेसलाई पहिलो कुरो त आफूसँग गठबन्धनमा आएको नेकपा एमालेसँगको मन्त्रालय भागबन्डामै सहमति जुटेन । लामै रस्साकस्सीपछि एमालेसँग मन्त्रालयको भागबन्डा मिल्यो । एमालेसँग मन्त्रालयको भागबन्डानुसार मन्त्रीहरूको टुंगो पनि लाग्यो, तर कांग्रेसभित्रै सहज वातावरण बनेन् ।

यसैको परिणाम हो, उनले नियुक्त गरेका मन्त्रीले नियुक्त भएको तीन दिनसम्म पनि शपथ लिन पाएनन् । अन्ततः उनको पद नै खोसियो ।

मुख्यमन्त्री लामाले तामाङलाई आर्थिक मामिलामन्त्री र कुन्दनराज काफ्लेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए । खासमा तामाङले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाएको कुरालाई उनैको पार्टीका काफ्लेले चित्त बुझाउन सकेनन् । मन्त्रालय चित्त नबुझेको निहुँमा काफ्लेसहित कांग्रेसबाट मन्त्री भएकाहरूले शपथ लिन सहज मानेनन् ।

बिहीबार दिउँसोलाई भनिएको शपथग्रहण कार्यक्रम हुन्छ हुन्छ भन्दै साँझ छिप्पिएपछि स्थगित गरियो । शपथग्रहण नहुनुमा अर्को कारण थियो कांग्रेसले गठबन्धनमा भएको सहमतिविपरीत एक जना मन्त्री थप नियुक्ति गर्नु ।

मन्त्रालय कटौती गर्नुपर्ने सवाल उठेका बेला झन् मन्त्री थपेपछि सत्ता साझेदार एमालेले त्यसको विरोध गर्‍यो । गठबन्धनले एमालेलाई पनि एक जना मन्त्री थप नियुक्त गर्न ‘अफर’ गर्‍यो, तर एमाले नमानेपछि शपथग्रहण नै रोकियो ।

अन्त्यमा बिहीबार रोकिएको शपथग्रहण कार्यक्रम शनिबार भएको छ । जसमा पहिले अर्थमन्त्री भएका तामाङलाई मन्त्री परिषद्बाटै हटाइएको छ भने हरिप्रभा खड्गीलाई नियुक्त गरिएको छ ।

काफ्लेलाई आर्थिक मामिलामन्त्री बनाउने सहमतिकै लागि मुख्यमन्त्री लामा तीन दिन पार्टी केन्द्रीय नेतृत्वको दबाबमा रहे । शनिबार बिहान मुख्यमन्त्री लामाले एकाएक तामाङलाई आर्थिक मामिलाबाट हटाएर काफ्लेलाई नियुक्त गरे ।

यसअघि काफ्लेको जिम्मेवारीमा रहेको सामाजिक विकास मन्त्रालयमा काठमाडौंकी हरिप्रभा खड्गी श्रेष्ठलाई नियुक्त गरियो ।

कांग्रेस बागमतीमा इन्द्रबहादुर बानियाँ र लामा गुटको विवाद यस घटनापछि सतहमा स्पष्ट देखिएको छ । लामाको यस कदमपछि बागमतीमा बानियाँ र लामा समूहको विवाद थप बढ्ने देखिएको छ । तामाङलाई अर्थको जिम्मेवारी दिन बानियाँले सुरुदेखि नै पहल गरेको जनाइएको थियो ।

लामा मुख्यमन्त्री बनेपछि त्यसपछिको महत्वपूर्ण मानिएको अर्थको जिम्मेवारी आफ्नो समूहले पाउनुपर्ने दाबी बानियाँ समूहको थियो । तर, मुख्यमन्त्री लामाले तामाङलाई मन्त्रीबाटै हटाएपछि विवादले उग्र रूप लिने देखिएको छ ।

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएर पनि शपथ नै नगराई हटाइनु गलत भएको तामाङले प्रतिक्रिया दिएका छन् । शपथ ग्रहण भएपछि आफूलाई फिर्ता बोलाउन पाउने, बर्खास्त गर्न पाउने अधिकार मुख्यमन्त्रीमा निहित रहँदा पनि शपथग्रहण अगाबै हटाइनु संविधानसम्मत नभएको उनको भनाइ छ ।

आफ्नो इच्छा कुनै विषयगत मन्त्रालय भन्दा पनि समग्र अर्थ क्षेत्रको मन्त्रालयमा रहेको हुँदा मुख्यमन्त्रीले जिम्मेवारी दिएको तर एकाएक हटाइनुले राम्रो सन्देश नदिएको उनको भनाई छ । उनी यो विषयमा मुख्यमन्त्रीसँग पनि असन्तुष्ट छन् ।

उनी भन्छन्, ‘राजनीतिमा यस्तो घटनाहरु भइरहन्छन्, मुख्यमन्त्री ज्युले आफ्नो अधिकार कुल्चिनु भएकै हो तर पछि केन्द्रका नेताले पनि अर्थ छाड्नु भनेपछि सहजताको साथमा छाडेको हुँ, अर्थ नभएर अरु मन्त्रालय अफर थियो तर मेरो नैतिकताले त्यो गर्न दिएन र म बाहिरिएँ ।’

तामाङ लगातार प्रदेशसभा सदस्यमा रसुवाबाट निर्वाचित सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?