काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिस डाँडामा जारी पार्टी पदाधिकारी बैठकमा उनले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिने बताए ।
उनले भने,‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ । यस्तो महत्वपूर्ण समयमा तपाईहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ ।’
उनले १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको बताए ।
उनले भने,‘१८ महिना सरकारको नेतृत्व ग-यौ । हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौँ । सुशासनका पक्षमा विजय भएर निस्किएका छौँ । भ्रष्टहरू मिलेर सरकार बनाएको कुरा बच्चा बच्चालाई पनि थाहा छ । यो कुरा जनतालाई पनि बुझाउन जरूरी छ ।’
पार्टी प्रवेश गर्दै युवा नेता जगदिश दाहालले प्रचण्ड सरकार इतिहासकै सबैभन्दा सफल सरकार भएको र प्रचण्ड सुशासनका नायक भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताए । कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल परित्याग गरी मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया