सिमलताल बस दुर्घटना : भेटियो चुम्बक, भेटिएनन् बेपत्ता यात्रु

लोकपथ
1.6k
Shares
फाइल तस्बिर : सिमलताल बस दुर्घटनामा बेपत्ताहरुको शव खोज्दै

काठमाडौं । गत असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा भएको २ वटा बस दुर्घटनामा बेपत्ताहरुको खोजी कार्य अझै जारी छ । तर हालसम्म २४ जनाको शव फेला परे पनि अन्यको शव र दुवै बस फेला पर्न सकेको छैन ।

गत शनिबार भारतीय टोलीको बस खोज्न प्रयोग गरेको चुम्बक भने फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो ।

उक्त चुम्बक आज बिहान काभ्रेघाटस्थित नारायणी नदीमा फेलापरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको उनले बताए ।

गत असार २८ गते वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

बसमा सवार ६५ जनामध्ये तीनजना हामफालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव भेटिएको छ । तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ । अन्य छ शवको पहिचान खुल्न सकेको छैन । अझै ३८ यात्रु र बस भेटिएका छैनन् ।

हराइरहेको बस खोज्न भारतीय टोली चितवन आएका थिए । उक्त टोलीले बस खोज्नका लागि १९ र १४ किलोका दुईवटा चुम्बक ल्याएका थिए । जसमध्ये शनिबार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो । बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली भने आइतबार नै फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?