सेवाग्राहीसँग घुस लिएका सव–इन्जिनियरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोकपथ
147
Shares

काठमाडौं । सडकको स्तरोन्नती गरी काम सम्पन्न गरेपछि सेवाग्राहीसँग घुस लिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सव–इन्जिनियर हिरा बाबु थापा, सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

दोलखाको विगु गाउँपालिका वडा नं. ३ स्थित लाकुरी डाँडा पिपल डाँडा ग्रामीण सडकको स्तरोन्नति गर्नको लागि पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकसँग ठेक्का सम्झौता भएको थियो ।

आर्थिक वर्ष २०८०÷०८१ मा योजनाको काम सम्पन्न भएको थियो । त्यसको भुक्तानी लिने क्रममा सव–इन्जिनियर हिरा बाबु थापाले सेवाग्राहीसँग ८० हजार घुस माग गरेका थिए । उक्त रकम भने सुपरभाइजर शिवाकोटी र शेर्पालाई लिन लगाई उक्त रकम लिन लगाएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनीहरुको मिलेमतोमा घुस माग गरेको भन्ने उजुरीका आधारमा अनुसन्धानमा खटिएको अख्तियारको टोलीले घुस रकम लिएको अवस्थामा पक्राउ गरिएको थियो ।

उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ८० हजार बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम हुने सजायलाई आधार मानी निजहरु नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांस बमोजिम मुख्य कसुरदार हिरा बाबु थापा सरह नै सजाय हुन मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?