पर्सा । नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०–८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम १२ करोड ३३ लाख ५७ हजार चार सय १८ पुगेको छ ।
सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि हुँदै गएको हो ।
बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम तीन करोड ९८ लाख ९७ हजार सात सय ४८ रहेको छ भने निजी घरमा खानेपानी प्रयोग गरेवापतको तिर्नुपर्ने बक्यौता रकम आठ करोड ३४ लाख ५९ हजार ६ सय ७० रकम बक्यौता कायमै छ ।
कार्यालयका अनुसार नारायणी अस्पतालको मात्रै बक्यौता एक करोड ८४ लाख ७८ हजार नौ सय ७० छ । वीरगञ्ज महानगरपालिका र सो मातहतका वडा कार्यालयको बक्यौता रु एक करोडभन्दा बढी छ । ठाकुरराम क्याम्पसको ४९ लाख ६१ हजार चार सय १७ छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको पनि बक्यौता ३५ लाख १० हजार चार सय ४७ छ । कार्यालय प्रमुख श्रेष्ठले खानेपानीको बिलअनुसारको महसुल तीन महिनाभित्र भुक्तानी नगरेको खण्डमा ५० प्रतिशत जरिवाना लाग्ने प्रावधान रहेको बताए। “खानेपानीको महसुल नतिर्ने निजी तथा सरकारी निकायलाई ताकेता गर्दै आइरहेका छौँ । तर अहिलेसम्म अपेक्षाकृत रूपमा बक्यौता रकम असुलउपर गर्न सकिरहेका छैनौँ ।”
कार्यालयका अनुसार आव २०८०–८१ को असार मसान्तसम्मको अवधिमा यो कार्यालय मातहत ११ हजार एक सय ३९ घरपरिवारमा खानेपानीको लाइन जडान भएको छ । कार्यालयले गत आवमा सानाठूला गरेर २१ किलोमिटर लम्बाइको पाइप लाइन विस्तार गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया