परम्परा धान्ने मात्र नभएर आम्दानीको स्रोत बन्न सक्छ ‘खिर’

लोकपथ
714
Shares

काठमाडौं । साउन १५ मा खिर खाने दिनलाई हाम्रा पुर्खाहरुले सन्तुलित आहारको लागि लिएको मान्न सकिन्छ । खिर दैनिक खान नसकेता पनि साउन १५ मा खाने परम्परा संस्कृतीको रुपमा थियो, पछि यसलाई दिवसमा रुपमा मान्न थालिएको हो ।

विशेषगरी असार साउनमा खेतबारीमा झरीमा रुझ्दै बलपूर्वक काम गर्नुपर्ने, जसका कारण चिसो लाग्ने र हिलोमा काम गर्ने हुँदा घाउ, खटिरा लाग्ने भएकाले त्यसको न्यूनिकरणका लागि खिर खाने परम्परा बसेको भन्ने बुझ्न सकिन्छ । खिरमा प्रयोग गरिने मरमसलाका कारण चिसो हट्ने, रोगसँग लड्ने शक्ति वा क्षमता वृद्धि हुने मान्यताका कारण परम्पराका रुपमा खिर दिवस मनाउन थालिएको बुझिन्छ ।

खिरमा चामल मिसाइने भनेकाले हामीले यसलाई प्रसादका रुपमा ग्रहण पनि गरिन्छ । पूजाआजामा पनि चामल नचल्ने तर खिर बनाएपछि चल्ने हुन्छ । त्यसैले पनि खिर अत्यन्तै मौलिक आहार अन्तर्गतको खाद्य पदार्थ हो । सँधै सेवन गर्न नसकेता पनि साउन १५ मा चाडको रुपमा सेवन गरेर भएता पनि शरीरलाई आवश्यक पर्ने तत्वहरु पूर्ति होस भनेर दिवसका रुपमा मानिएको अनुमान सहजै लगाउन सकिन्छ । पछिल्लो समय युवा पुस्ताले यसलाई चाडको रुपमा लिने गरेको छन् ।

सामाजिक सञ्जालको प्रयोगले पनि खिर खाने दिनलाई अलि वढवा दिएको पाइन्छ । पहिले पहिले खिर खाने चलन घर घरमा परम्पराको रुपमा स्थापित थियो भने अहिले सामाजिक सञ्जालको माध्यमबाट सबैले खिर खानुपर्ने रहेछ, यो एउटा चलन रहेछ , परम्परा रहेछ स्वीकार्न थालिएको छ । कहिल्यै दुग्ध पदार्थ सेवन नगर्ने अथवा खिर नखानेहरुले पनि साउन १५ मा खिर खाएर मनाउने गर्छन् ।

खिर खाने दिनले गाईभैँसी पालनप्रति मानिसहरुलाई प्रेरित पक्कै गर्छ । गाईभैँसीबाट दुध उत्पादन हुन्छ त्यो उत्पादन बिक्री भएपछि शहर बजारबाट प्राप्त रकम गाउँमा नै जाने हो । अहिले पनि दैनिक ३१ लाख लिटर दूधको रकम गाउँ गाउँसम्म पुग्छ ।

साउन १५ दिन मात्रै करोड लिटर दूधको खपत हुने गरेको डेरी एशोसियशनका अध्यक्ष प्रल्हाद दाहाल बताउँछन् । अन्य बेलामा करिब ९३ हजार दूधको खपत हुने गरेकोमा सो दिन एक करोड लिटर दूध खपत हुने गरेको उनको दाबी छ ।

‘साउन १५ खिर खाने बेला लगभग एक करोड लिटरजति दूध खपत हुन्छ । अन्यबेला पनि ९३ लाख लिटर दूध खपत हुन्छ । त्यो बापतको जम्मा ६५ करोडको आर्थिक कारोबार हुन्छ । त्यो भनेको किसानहरुको लागि पनि राम्रो प्रोत्साहन हो,’ उनले भने ‘किनकी जतिपनि दुग्ध पदार्थ उपभोग गर्छौँ त्यो गरिसकेपछि किसानहरुलाई पशुपालन गर्न प्रोत्साहित पक्कै गर्छ । हामीले आँकडा निकाले अनुसार एक करोड लिटरजति दुध खपत हुने अनुमान गरिएको छ । यो बापतको ६५ करोडसम्म कारोबार हुन्छ । विगत १ गतेदेखि दूधको संकलन विस्तारै बढाउँदै लगेका छौं । किनकी एकै दिनमा यो सम्भव हुँदैन् । सबै डेरीहरुले दैनिक बिक्री गर्ने दुधभन्दा तीन गुण बढी बिक्री गर्नुहुन्छ ।’

तर पछिल्लो समय गाउँघरमा गाईभैँसी पालन कमी हुँदै गएपछि दूधको उत्पादनमा समेत कमी हुँदै गइरहेको छ । गाउँमा धेरै जेष्ठ नागरिक मात्र रहेका छन् । उनीहरुले मात्र गाइभैँसी पाल्न सक्दैनन् । साथै गाउँमा काम गर्ने केही जनशक्ति पनि शहरमा बसाँइसराईको तर्खरमा छन् । त्यसैले गाउँघरका बस्ती उजाड भएका छन् । गोठहरु खाली भएका छन् । मानिसहरु शहर केन्द्रीत भएका छन् । जुन कुरा पशुपालनको लागि राम्रो होइन ।

केही दशकदेखि युवाहरुको विदेश पलायनता कम भएको समयमा गाउँमा पशुपालन धेरै हुने गरेको थियो । शहरमा पशुपालनका लागि सहजता नहुने अवस्था एकातिर छ भने गाउँमा मान्छेहरु रित्तिएको अवस्था अर्कोतिर । जसको कारण कृषिप्रदान मुलुक भए पनि हामी दूग्धजन्य पदार्थ बाहिरबाट ल्याउन बाध्य रहेका छौँ ।

त्यसो त सोही आजको दिन अर्थात् साउन १५ मा दुग्धजन्य पदार्थको बिक्री नहुने अनुभव सुनाउँछन् । खिरमा बढी प्रोटिन हुने भएको कारण पनि अन्य पदार्थहरु एकैदिन खान नहुने भन्दै कम बिक्री हुने गरेको उनको तर्क छ ।

‘खिर खाने दिन अर्थात् साउन १५ मा चाँही अन्य दुग्धजन्य पदार्थको बिक्री खासै हुँदैन । खिरमा प्रोटिन अलि बढि हुने भएकाले एकै दिन बढि खानु हुँदैन भनेर पनि हो,’ उनले भने ।

खिरलाई साउन १५ र अन्य चाडपर्वमा खाने भन्दा पनि पर्यटनसँग जोड्नुपर्ने उनको तर्क छ । विशेषगरी नेपालमा र अन्य केही मुलुकहरुमा मात्र खिर खाइने भन्दै विभिन्न देशबाट नेपाल घुम्न आउने पर्यटकहरुलाई खिरको स्वाद दिन सके त्यसले आर्थिक उपार्जनमा समेत टेवा पुग्ने उनको तर्क छ ।

‘खिर दिवसलाई पर्र्यटनसँग पनि जोड्नुपर्छ । पर्यटकहरु आउँदाजाँदा खिर खुवाउने चलनको विकास गर्नुपर्छ । देशभरका होटलहरुमा अनिवार्य खिर बनाउने र सेवन गराउने चलन बसाल्न सक्योभने पर्यटनमार्फत आयआर्जन गर्न सकिन्छ । छोराछोरीहरुलाई पनि परम्पराबारे बताउने गर्नुपर्छ । अनि मात्र भावी पुस्ताले यस दिनलाई निरन्तरता दिन सक्छन्,’ उनको तर्क छ ।

त्यसो त पहिलेपहिले महिना वा १५ दिनमा एकचोटी घरमा खिर खुवाउने चलन रहेको थियो । पछिल्ला वर्षहरुमा त्यो लोप हुँदै गए पनि सामाजिक सञ्जालमा प्रयोग र आम सञ्चार माध्ययममा पनि यसको प्रचारप्रसार हुन थालेको छ । खिर कुनै दिवस विशेषमा मात्र नभएर त्यसका महत्वबारे आम मिडियाबाट त्यसको प्रचार भएपछि कतिपय स्थानमा व्यवसायीक रुपमा खिर व्यवसाय समेत हुने गरेको छ ।

कतिपय कार्यालय, विद्यालय, हस्पिटल लगायतमा त हप्तामा एक दिन खिरलाई दिवा खाजाको रुपमा प्रयोग गर्ने गरिन्छ । तर साउन १५ गतेको दिन भने सबै ठाँउमा खाजाको रुपमा खिरनै खाने चलन विगत धेरै वर्षदेखि चलिआएको छ । सामाजिक सञ्जालको कारण पनि यसको प्रभाव बढेको मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?