पूर्वराज्यमन्त्री रायको हत्या उनकै सहयोगीबाट, हत्याका लागि उक्साउने वीरेन्द्र राय पनि पक्राउ

लोकपथ
805
Shares

सर्लाही । सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै सहयोगी रामउजैन रायबाट भएको खुलासा भएको छ । उनले लोभ र अर्का एक व्यक्तिको उक्साहटमा पूर्वराज्यमन्त्री रायको हत्या गरेको प्रहरीले जनाएको छ ।

पूर्व भूमिसुधार राज्यमन्त्री रायको सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ स्थित रतनपुरमा रहेको फार्म हाउसमा गत साउन ६ गते राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । टाउकोको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी उनको हत्या भएको थियो । हत्या गर्न प्रयोग गरिएको उखु काट्ने फर्सा घटनास्थलबाट करिब २५ मिटर पश्चिम बाँसको झाडीमा फेला परेको थियो ।

२५ वर्षीय रामउजैन कविलासी नगरपालिका–३ स्थित मदनपुरका स्थायी वासिन्दा हुन् । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उनले घटना भएको रात आफूले नचिनेको तीन जना व्यक्ति आएको, उनीहरुले जग्गा कहिलेसम्म आफूहरुले पाउने भनी सोधेको सुनेको, कुराकानी भइरहँदा पूर्वराज्यमन्त्री रायले आफूलाई सुत्न भनी पठाएको, राति शौंच गर्न उठ्दा रगतले लतपतिएको अवस्थामा शव देखेको र राति नै ती तीन जना व्यक्ति फरार भएको’ प्रहरीसँग बताएका थिए । प्रहरीले उनको भनाइलाई नै आधार मानेर अनुसन्धान गरेको थियो ।

सहयोगी रामउजैनले पूर्वराज्यमन्त्री रायले धेरै बेरसम्म खुटा थिच्न भन्ने गरेको, काम गरिरहँदा पनि धेरै इरिटेट गर्ने र गाली गर्ने गरेकोले आफूले हत्या गरेको वयान दिएका थिए । घटना भएको राति भनाभन नै भएको र आफूले सहन नसकी घरमा रहेको उखु काट्ने फुर्सा प्रहार गरी हत्या गरेको बताएको पनि प्रहरीको भनाइ छ ।

सहयोगी रामउजैनले भनेका कुरा पुष्टि हुन नसकेपछि प्रहरीले पछिल्ला दिनमा उनीमाथि नै अनुसन्धान केन्द्रित गरेको थियो । पोलियोग्राफ टेस्टमा उनको बयान झुटो देखिएपछि प्रहरीले उनीमाथि थप केरकार गरेको थियो ।

प्रहरीले आफूमाथि नै शंका गर्न थालेपछि अन्तिममा उनले रतनपुर बस्ने ४५ वर्षीय वीरेन्द्र रायको प्रलोभनमा परेर हत्या गरेको वयान दिएका थिए । उनको यो भनाइपछि प्रहरीले वीरेन्द्रलाई पनि पक्राउ गरी सोधपुछ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जग्गासम्बन्धी विवादका कारण घरमा काम गर्ने सहयोगी रामउजैनले रायको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको बताए । रतनपुर बस्ने ४५ वर्षीय वीरेन्द्र रायले राम उजैनमार्फत् उनको हत्या गराएको अनुसन्धानमा खुलेको डिएसपी दीपक श्रेष्ठको भनाइ छ । पूर्वराज्यमन्त्री रायको फार्म हाउस र वीरेन्द्रको खेत एकै ठाउँमा टाँसिएको छ । उक्त फार्म हाउस आफ्नो जग्गामा परेको वीरेन्द्रले दाबी गर्दै आएको प्रहरीले जनाएको छ ।

‘करिब एक महिनाअघि वीरेन्द्रले रामउजैनमार्फत् पूर्वराज्यमन्त्रीको घर–जग्गाको नक्सा झुक्याई मागेर फोटो र भिडिओ खिचेका थिए । त्यो सबै मिलाएर वीरेन्द्रले पक्की घर रहेको जग्गा आफ्नो बताउँदै आएका थिए,’ डीएसपी श्रेष्ठले भने, ‘घटना हुनुभन्दा केही दिनअघि वीरेन्द्रले रामउजैनलाई दुई लाख रुपैयाँ र व्यवसायका लागि फर्म पनि बनाइदिन्छु भनेका रहेछन् । त्यसको बदलामा रामचन्द्रको हत्या गर्नुपर्ने उनको सर्त थियो । उनकै उक्साहट र प्रलोभनमा रामउजैनले हत्या गरेका हुन् ।’

भट्टीबाट इँटा ओसार्ने काम गर्दै आएका रामउजैन तीन महिना अघिमात्रै रायको काठमाडौंस्थित घरमा काम गर्न पुगेका थिए । तर त्यहाँ उनको गतिविधि राम्रो नभएको भन्दै फेरि गाउँमा फर्काइएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले करिब डेढ महिनादेखि उनले रतनपुरस्थित पूर्व राज्यमन्त्री रायको खेतमा काम गरिरहेको बताए ।

पक्राउ परेका दुवैजनाविरूद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?