महानगरको छात्रवृत्तिमा परेका विद्यार्थीहरुबाट मनोमानी शुल्क लिँदै कलेजहरु, ‘एक्सन’ महानगर

लोकपथ
63
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको छात्रवृत्तिमा परेका विद्यार्थीहरुबाट पनि विभिन्न कलेजहरुले शुल्क लिने गरेको गुनासो बढ्न थालेको छ ।

अघिल्लो वर्षबाट सुरु भएको छात्रवृत्ति अन्तर्गत महानगरले तोकेको मापदण्ड अनुसार छनोट भएका विद्यार्थीहरुले कुनै पनि शुल्ल बुझाउनुपर्दैन । तर कतिपय कलेजहरुले भने कक्षा ११ का विद्यार्थीहरुसँग भर्नाको समयमा विभिन्न शीर्षकमा शुल्न लिने गरेका छन् ।

धेरै विद्यार्थी तथा अभिभावकहरुले गुनासो गरेपछि महानगरले गुनासो सुन्न र शुल्क लिने कलेजहरुलाई कारबाही गर्न वडावडा तहबाट सहजीकरण गरिरहेको छ । महानगरले कक्षा ११ र १२ का विद्यार्थीहरुबाट कुनै पनि शुल्न नलिन समेत भनेको छ ।

कक्षा ११ र १२ का लागि लिइएको छात्रवृत्ति परीक्षाको नतिजा र निःशुल्क भर्ना सम्बन्धी समस्या भए सहजीकरण गर्नका लागि काठमाडौं महानगरपालिकाको शिक्षा विभागले विद्यालय निरीक्षक र स्रोत शिक्षकलाई वडागत सहजीकरणको जिम्मेवारी दिएको छ । शिक्षा अधिकृत नेत्रनारायण पौडेलका अनुसार छात्रवृत्तिको मनोनयम सूची (म्याचिङ् लिष्ट) बाट सिफारिस भएका विद्यार्थीहरुसँग विद्यालयहरुले भर्ना शुल्क माग गरेको गुनासो आउन थालेपछि सहजीकरणका लागि अधिकारीहरुको नाम र मोवाइल नम्बर सार्वजनिक गरिएको हो ।

महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि लिएको छात्रवृत्ति परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका २ हजार ८५९ जना विद्यार्थीका नाम शनिबार (साउन १२ गते) प्रकाशन गरेको छ । यसको विवरण इमेलबाट विद्यालयहरुलाई पठाइएको छ । यस्तै विद्यार्थीहरुलाई एसएमएस पठाइएको छ ।

पहिलो सूचीमा नाम प्रकाशन भएका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना भइसक्नु पर्नेछ । छात्रवृत्ति छनोट समितिका संयोजक एवं शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा भन्छन्, ‘तोकिएको समयभित्र भर्ना नभए त्यसपछि कुनै पनि प्रकारको दावी विरोध गर्न पाइँदैन । साउन १५ गतेभित्र भर्ना नभइ रिक्त रहेका सिटसमेतका लागि दोस्रो सूची प्रकाशन हुनेछ ।’

विज्ञान विषयमा छात्रवृत्तिका लागि १ हजार ७५७ वटा छात्रवृत्ति कोटा उपलब्ध छ ।

यसमा ८ हजार ४९७ जनाले आवेदन दिएका थिए । परीक्षामा ७ हजार ६६५ जना सहभागी भए । ६ हजार ७२० जना उत्तीर्ण भए ।

उत्तीर्णमध्ये १ हजार ६३७ जनाको नाम पहिलो सूचीमा प्रकाशन भएको छ ।

व्यवस्थापन विषयमा २ हजार ४९३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि २ हजार ५८१ जना विद्यार्थीले आवेदन दिए । २ हजार ३२८ जनाले परीक्षा दिए । परीक्षार्थीमध्ये १ हजार ३८१ जना उत्तीर्ण भए ।

यस विषयका लागि पहिलो म्याचिङ् लिष्टमा १ हजार १४६ जनाको नाम प्रकाशित भएको छ ।

कानुन विषयमा १३६ वटा छात्रवृत्ति कोटा छ । यस विषयका लागि १५३ जनाको आवेदन परेको थियो । १३२ जनाले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भए । उत्तीर्णमध्ये ५३ जनाको नाम प्रकाशित भएको छ ।

मानविकी विषयमा अध्ययनका लागि १७३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि १३ जनाको आवेदन थियो । आवेदकमध्ये ११ जनाले परीक्षा दिए । यस्तै ८ जना उत्तीर्ण भए ।

यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशन भएको छ ।

कलेजहरुले शुल्क लिएमा सहजीकरणका लागि महानगरले तलको नम्बरहरुमा गुनासो गर्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?