काठमाडौं । गत पुसमा ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान गएको घटनामा निलम्बनमा परेका नेपल प्रहरीका एक जना डीएसपी र एक जना असईको निलम्बन फुकवा भएको छ ।
दुई जनाको ज्यान जाने गरी भएको सो घटनामा राम्रोसँग जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्साल र प्रहरी सहायक निरीक्षक (असई) बोधराज अधिकारीलाई निलम्बन गरिएको थियो ।
सो घटना हुँदा डीएसपी लम्साल जिल्ला प्रहरी परिसरमा र असई अधिकारी तत्कालीन भौतिक योजना तथा यातायत मन्त्री प्रकाश ज्वालाका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) थिए ।
प्रहरी नियमावली २०७१ अनुसार कुनै पनि प्रहरी कर्मचारीलाई ६ महिनाभन्दा निलम्बन गर्न नमिल्ने उल्लेख छ । जसकारण उनीहरुको निलम्बन फुकुवा बाध्यकारी पनि बनेको थियो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले निलम्बन फुकवाका लागि कानुन शाखाले लेखेर पठाइसकेको बताए । उनका अनुसार कानुन शाखाले लेखेपछि सम्बन्धित मातहतको कार्यालयले प्रहरी अधिकारीको निलम्बन फुकुवा गर्नुपर्ने गरी नियमित कामकाजमा खटाउनुपर्ने हुन्छ ।
१३ पुस २०८० मा बालकुमारीको ईपीएस शाखाअघि पानी जहाज निर्माण क्षेत्रतर्फ भाषा परीक्षा दिएर असफल भएकाहरूले उत्पादनर्मूलक क्षेत्रतर्फ पनि भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।
सोही क्रममा गोली चल्दा अछामको चौरपाटी गाउँपालिका–१ घर भएका २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया