दलगत स्वार्थभन्दा माथि उठेर नेपालको परिवर्तन गर्ने अभियानमा लागौँ : सुशिल भट्ट

लोकपथ
252
Shares

काठमाडौं । परिवर्तन अभियान नेपालका अध्यक्ष सुशिल भट्टले अहिलेको युवाहरु दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् ।

सोमबार परिवर्तन अभियान नेपालको प्रथम वार्षिक उत्सवका अवसरमा कामनपा–१६ स्थित नयाँबजार मल्टि भेन्यूमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

परिवर्तन अभियान नेपालले यसअघि गरेका विभिन्न सामाजिक काम सेवाभावले गरिएको भन्दै त्यसलाई राजनीतिक चस्मा लगाएर नहेर्न समेत आग्रह गरे ।

‘हामी यहाँ धेरै राजनीतिक आस्थासँग जोडिएका व्यक्तिहरु छौँ, प्जिल तपाईँहरुलाई म ढुक्कका साथ भन्छु हामीले गर्ने प्रत्येक क्रियाकलापमा हाम्रो आँखामा राजनीतिक चस्मा लगाएर नहेरौँ । राजनीतिक चस्मा निकालेर हरेक क्रियालापमा सहभागि बनौँ । परिवर्तन अभियान भित्रको गतिविधि राजनीतिक चस्मा लगाएर नहेरौँ । हामीले गर्ने हरेक काम नागरिकसँग जोडिएका हुन्छ त्यसकारण त्यसलाई राजनीतिकरण गर्नु भनेको जनतामाथिको प्रहार हो,’ उनले भने ।

आज ठुलो संख्यामा युवा जमात विदेशमा रहेको बताउँदै ती युवाहरुलाई नेपालमा नै केही छ भन्ने भावना जागृत गर्नुपर्नेमा जोड दिए । साथै आगामी दिनमा परिवर्तन अभियान नेपालले गर्ने हरेक क्रियाकलाप युवा, वृद्धवृद्धा र समग्र जनताका लागि हुने विश्वास व्यक्त गरे ।

त्यस्तै सो कार्यक्रमलाई सम्बोधन गर्दैै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । उनले कांग्रेस एमालेको नयाँ समीकरणले मुलुकलाई स्थायित्व दिने भन्दै सरकारमाथि शंका नगर्न आग्रह गरे ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्णसबुज बानियाँले काठमाडौं राजनीतिको क्रिडास्थल भएको टिप्पणी गरे । गणेशमान सिंहले हातमा आएको प्रधानमन्त्री पद स्वीकार नगरेपछि काठमाडौं पछि परेको बताए ।

उक्त कार्यक्रमलाई कांग्रेस नेतृ सिर्जना सिंह, काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष समेत रहेका नेता ख्यामप्रसाद तिवारी लगायत नेताहरुले सम्बोधन गरेका थिए ।

सो कार्यक्रममा विभिन्न चर्चित कलाकारहरुले सांगीतिक प्रस्तुती समेत दिएका थिए । साथै सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

परिवर्तन अभियान नेपालले यसअघि काठमाडौंका विभिन्न स्थानमा विविध किसिमका सामाजिक कामहरु गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?