काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतका सडक र मुग्लिन–नासरायणगढ सडकखण्ड सधैँ दुर्घटनाको जोखिममा रहन्छ ।
बितेको ८ वर्षको तथ्यांक हेर्ने हो भने मुग्लिन–नासरायणगढ सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेका छन् । जसमा सवार ५५ जना बेपत्ता भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ५, २०७४/७५ मा चारवटा, २०७५/७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन् । त्यस्तै आव २०७६/७७ मा एउटा, २०७७/७८ मा एउटा, २०७९/८० मा एउटा र २०८०/८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३/७४ मा १४, २०७८/७९ मा चार र २०८०/८१ मा ३७ जना बेपत्ता भएका हुन् ।
उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३/७४ देखि आव २०८०/८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् ।
पछिल्लो पटक मुग्लिन–नासरायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महागरपालिका–२९ को सिमलतालमा २ वटा बस त्रिशूली नदीमा खस्दा ६५ यात्रु बेपत्ता भएका छन् । त्यसमध्ये हालसम्म २४ जनाको शव फेला परेको छ । गोताखोरको प्रयोग गरी उनीहरुको खोजी गर्दा २५ जनाको शव फेला परे पनि अन्य एक जना भने अरु नै दुर्घटनाबाट मृत्यु भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया