काठमाडौं । हमास नेता इस्माइल हानियाको बुधबार इरानमा हत्या भएको छ । तेहरानस्थित निवासमै इस्माइल हानियाको हत्या भएको हो । आक्रमणमा उनका एक अंगरक्षकको पनि मृत्यु भएको छ ।
मंगलबार इरानका नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका उनको बुधबार बिहानै हत्या गरिएको इरानको एलिट रिभोलुसनरी गार्डले जनाएको छ । प्यालेस्टाइनी लडाकु समूह हमासलेृ पनि उनी मारिएको पुष्टि गरेको छ ।
हानियाको मृत्युमा इजरायलले आधिकारिक रूपमा केही नभने पनि इजरायली सरकारका सम्पदामन्त्री अमिचे इलियाहुले घुमाउरो पारामा उनको हत्या भएको जनाएका छन् । ‘विश्वबाट यस्तो फोहोर सफा गर्ने यही नै सही तरिका हो,’ उनले भनेका छन् ।
इस्माइल हानिया हमासका नेताहरूमध्ये नरम मानिन्छन् । हमासको राजनीतिक विभाग प्रमुख रहेका उनी प्यालेस्टिनी प्राधिकरणको दसौँ प्रधानमन्त्रीसमेत हुन् । प्यालेस्टाइनको शरणार्थी शिविरमा जन्मिएका उनलाई सन् १९८९ मा इजरायलले ३ वर्ष कारागारमा समेत राखेको थियो ।
सन् १९९७ मा हमासका नेता शेख अहमद यासिनको कार्यालय प्रमुखका रूपमा नियुक्त भएका उनलाई हमासले सन् २००६ मा प्यालेस्टिनी प्राधिकरणको प्रधानमन्त्री नियुक्त गरेको थियो । तर एक वर्ष पुग्दा नपुग्दा प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख मोहम्मद अब्बासले हानियालाई पदबाट बर्खास्त गरेका थिए । सन् २०१८ मा अमेरिकी विदेश मन्त्रालयले हानियालाई आतंकवादी घोषणा गरेको थियो । पछिल्लो समय भने हानिया कतारमा बस्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया