दुवईबाट मृत्यु जितेर फर्किएका भुवन र पहलमानको बयान

विदेशको नाम सुन्न पनि मन छैन

लोकपथ
371
Shares

काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका धेरै नेपालीहरु काठको बाकसमा फर्किने नेपालीहरुको दुखदायी यथार्थ बनिरहेको छ ।

खासगरी खाडीका विभिन्न मुलुकमा रोजगारीका लागि जाने नेपालीहरु विभिन्न आरोपमा जेल पर्छन् ती मध्ये कति निर्दोष सावित हुन्छन् । त कतिपय भने वर्षौँसम्म जेलमा सड्ने गरेका छन् । त्यहाँको कडा कानुनका अघि उनीहरुको केही लाग्दैन । कतिपय घटनामा संलग्नै भएर मृत्युदण्डसम्म पुग्छन् त कति भने अनाहकमा मृत्युदण्ड भोगिरहेका हुन्छन् ।

त्यसैक्रममा वैदेशिक रोजागरीको शिलशिलामा संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका २ जना नेपाल फर्किएका छन् ।

ओखलढुङ्गाको चिसङ्खुगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा मगर ‘ब्लडमनी’ बुझाएर स्वदेश फर्किएका हुन् ।

उनीहरुमाथि आफ्नै साथी मारेको हत्या अभियोग लाग्यो । नवलपरासीको मध्यबिन्दु नगरपालिका– ११ का बाबुराम आलेमगरको हत्या गरेको आरोप उनीहरुमाथि थियो ।

उनीहरु २ सहित अन्य ५ जना नेपाली पक्राउ परेका थिए । अन्य ३ जनालाई अदालतले सफाइ दिए पनि भुवन र पहलमानलाई भने घटनाको दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनायो ।

दुवईको कानुन अनुसार सजाय रोज्ने अधिकार पीडित परिवारलाई दिइन्छ । घटनाका कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी) भनेर अदालतले पीडित परिवारलाई सोध्छ । भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरे । जसको कारण उनीहरु जीवित रुपमा नेपाल फर्किन पाए ।

त्यहाँको अदालतले १ करोड ९ लाख ‘ब्लडमनी’ को फैसला सुनाएको थियो । उक्त रकम उनीहरुको परिवारले तिर्न सक्ने सामथ्र्य थिएन । विभिन्न व्यक्तिहरुलाई गुहार्दै गर्दा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ लगायत अभियन्ताहरुको पहलमा ‘ब्लडमनी’ संकलन अभियान चल्यो । यताबाट ब्लडमनी संकलन गरी दुवई पठाइएपछि आवश्यक प्रक्रिया पुर्याएर उनीहरु नेपाल फर्किने मौका पाए ।

दुवईबाट मृत्युलाई जितेर फर्किएका पहलमान र भुवनमा त्रासदीपूर्ण जेल जीवनबाट फर्किन पाएकोमा केही हर्ष थियो, केही दुःख थियो । उनीहरुका आँखा रसाएका थिए । झुटो आरोपमा जेल पर्नु र अझ दोषी ठहरिइ मृत्युदण्डको सजाय सुनाइनुको पीडाभाव उनीहरुको आँखामा झल्किन्थ्यो ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पहलमानले बाबुरामसहितका साथीहरु मिलेर घटनाको साँझसँगै मदिरा पिएको बताए । त्यसपछि आ–आफ्नो कोठामा गएको र त्यसको तीन घण्टापछि मृत भेटिए । अरु दिन पनि रक्सी पिउने गरे पनि सो दिन बाबुरामले भने धेरै रक्सी पिएको पहलमानको दाबी छ ।

पहलमानले भने, ‘हामी साँझसँगै बसेर रक्सी पिएका थियौँ । जुन–जुलाईको समय भएकाले त्यहाँ धेरै गर्मी थियो । बाबुराम धेरै नै रक्सी पिएर रुममा गएका थिए । रुममा गएको तीन–चार घण्टापछि आफैँ मृत अवस्थामा फेला परे । त्यस घटनामा ५ जनालाई पक्राउ गरेको भएपनि अरु तीन जना पहिले नेपाल फर्किएका थिए । हामी दुई जना ६ वर्षपछि ब्लड मनि बुझाएर नेपाल फर्किएका हौँ ।’

एकातिर त्यसअघि पनि विदेशमा पाएको हैरानी र अझ आफ्नै ज्यान नै उतै समाप्त हुने जस्तो मृत्युदण्डको सजाय पाएर फर्किएका उनीहरुमा विदेश जाने मनस्थिति छैन । अझै ‘गल्फ कन्ट्री’ (खाडी मुलुक)को नाम त सुन्नै चाँहदैनन् ।

यता मृत्युलाई जितेर फर्किएका भुवन पनि भावुक देखिन्छन् । मृत्युदण्ड सुनाइएको त्यो क्षण सम्झिँदा उनको आँखा रसायो । ५ वर्ष जेल रहँदा सरकारी तबरबाट कुनै पनि पहल नभएको उनको गुनासो छ । राजदूतावासमा सम्पर्क गर्दा हत्याको ‘केस’ मा आफूहरुले केही गर्न नसक्ने प्रतिक्रिया पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?