‘धर्मगुरु’ खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता

लोकपथ
217
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही नेताको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु भन्ने पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।

सामाजिक सञ्जाल मार्फत गलत कार्य गरेकाले पक्राउ गरिएको भनिए पनि उनलाई राज्यले नियतवश नियन्त्रणमा लिएर गैरकानुनी थुनामा राखेको जिकिर रिटमा गरिएको छ ।

उनलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार पक्राउ गरेको थियो । उनी पक्राउ परेको भोलिपल्ट मंगलबार खतिवडाको तर्फबाट आवास अधिकारीले सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् । जिल्ला अदालत काठमाडौंबाट म्याद समेत थप भएपछि रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता भएको हो ।

उनलाई विद्युतीय अपराधअन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । केही दिनअघि उनले फेसबुकमा भिडिओ राख्दै अनुष्ठान गर्ने बताएका थिए । उनले भनेका थिए, ‘देशमा खाल्डोमा हाल्ने नेताहरू छन्, उनीहरूको फोटोसहित राखेर यमराजको पूजा गर्ने निर्णय गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?