काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले भारतको राजदूत बन्नका लागि साउन ९ मा राजीनामा दिएको खुलेको छ । यद्यपि, उनी राजदूत भने बन्न सकेनन् ।
स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले वैरागीलाई भारतका लागि नेपालको राजदूत बनाउने आश्वासन दिएका थिए । तर, उनलाई राजदूत बनाउन प्रधानमन्त्री केपी शर्मा ओली तयार नभएको स्रोतको दाबी छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ राजदूत सिफारिस गर्दा भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भने शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा राखिराख्न पनि नचाहेपछि उनले राजीनामा दिएको स्रोतको भनाइ छ ।
पूर्वमुख्यसचिव वैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए । वैरागीले मुख्यसचिवको कार्यकाल तीन महिना बाँकी छँदा बैकुठ अर्याललाई मुख्यसचिव बनाउने बाटो खोल्दै राजीनामा दिएका थिए । मुख्य सचिवमा अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकारमा वैरागीको नियुक्ति एकै दिन भएको थियो । अर्याल भने भ्रष्टाचारको मुद्दा दायरपछि निलम्बनमा परेका छन् ।
वैरागी ओली प्रधानमन्त्री हुँदा मुख्यसचिव बनेका थिए । २०७७ असोज १५ मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाएर ओली नेतृत्वको सरकारले बैरागीलाई मुख्यसचिव बनाएको थियो ।
अन्य देशमा राष्ट्रिय सुरक्षा सल्लाहकार हुने गरे पनि नेपालमा भने बैरागीलाई नियुक्त गर्न पहिलो पटक सुरक्षा सल्लाहकारको पद सृजना गरिएको थियो । सल्लाहकार बैरागीले मन्त्रीसरहको सुविधा पाइरहेका थिए ।
मुख्यसचिव हुनुअघि बैरागी परराष्ट्र सचिव थिए । त्यसअघि उनी संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधिसमेत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया