व्यापक विरोधपछि सर्वोच्च अदालतमा चलेको कोचिङ कक्षा बन्द

लोकपथ
910
Shares

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले आफ्नो भवनमा चलिरहेको कोचिङ कक्षा बन्द भएको सूचना जारी गरेको छ । बिहीबार सर्वोच्च प्रशासनले एक सूचना जारी गर्दै कोचिङ कक्षा सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।

सर्वोच्च अदालत प्रशासनबाट जारी भएको सूचना अनुसार एक दिवसीय कार्यक्रमबाहेक अन्य कार्यक्रम सञ्चालन गर्न नदिने सूचना जारी गरेको हो । यो सूचनासँगै अब एमालेनिकट कर्मचारी सङ्गठनले व्यावसायिक प्रयोजनका लागि चलाएको कोचिङ कक्षा समेत बन्द भएको छ ।

साउन १६ गतेको मिति राखेर बिहीबार जारी भएको सूचनामा अदालतको एनेक्स भवनको पाँचौँ तलामा रहेको सभाकक्ष प्रयोग सम्बन्धमा मापदण्ड तय गरिएको र उक्त मापदण्डभित्र के पर्छ र के पर्दैन भन्ने कुरा उल्लेख गरिएको छ ।

सर्वोच्चले तयार पारेको मापदण्डमा न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना अनुसार मानव संसाधनको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम, अदालतका कर्मचारीसँग समय समयमा गरिने कर्मचारी बैठक, अदालतको वार्षिक कार्ययोजना तथा बजेटमा उल्लेख भएका विभिन्न कार्यक्रमहरूको सञ्चालन गर्न मात्रै उक्त सभाकक्षको प्रयोग गर्न पाइने उल्लेख छ ।

साथै कर्मचारीसँग सम्बन्धित एक दिवसीय कार्यक्रम सञ्चालन गर्न दिने भएपनि सुरक्षा संवेदनशीलताका कारण लामो अवधिको कार्यक्रम सञ्चालन गर्न अनुमति नहुने कुरा उल्लेख छ ।

यसअघि बुधवार नै माओवादी केन्द्रनिकट कर्मचारी सङ्गठनले व्यावसायिक प्रयोजनका लागि एनेक्स भवनको सभाकक्ष प्रयोगमा आएको भन्दै तालाबन्दी गरिदिएको थियो । त्यसलगत्तै सर्वोच्च अदालत प्रशासन उक्त सभाकक्षमा लोकसेवाको कोचिङ कक्षा सञ्चालन गर्न दिने निर्णयबाट पछि हटेको हो ।

साउन १५ गतेबाट सर्वोच्च अदालतको एनेक्स भवनको पाँचौँ तल्लामा एमालेनिकट नेपाल निजामती कर्मचारी सङ्गठनले पैसा लिएर कोचिङ कक्षा सञ्चालन गरेको थियो । सो कार्यक्रमको उद्घाटन रजिस्ट्रार विमल पौडेलले गरेका थिए ।

सङ्गठनले केही दिन अगाडि नेपाल न्याय सेवाको उपसचिव पदका लागि सर्वोच्च अदालतको एनेक्स भवनमा तयारी कक्षा सञ्चालन गर्ने भन्दै सूचना निकालेको थियो । सूचनामा तयारी कक्षाका लागि प्रतिव्यक्ति १३ हजार ५ सय रुपैयाँ लिने उल्लेख थियो ।

यो पनि …

सर्वोच्च अदालतभित्रै पैसा लिएर एमालेको कोचिङ सेन्टर !

तर कुनै संगठनको व्यावसायिक काममा सर्वोच्च अदालतको भवन प्रयोग भएको भन्दै व्यापक विरोध भएपछि सर्वोच्च अदालत प्रशासन कोचिङ कक्षा चलाउन नदिन बाध्य भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?