ओली कार्यकालको सुरुवाती दिन : शेयर बजारमा बाहेक देखिएन उत्साह

ओली निर्देशनमा, मन्त्रीहरु भेटघाटमा व्यस्त

लोकपथ
196
Shares

काठमाडौं । असार ३० गते नियुक्त भई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बागडोर सम्हालेको तीन हप्ता पुग्नै लाग्यो । दुई ठूला दलको मिलानले निम्तिन सक्ने खतराबारे आलोचना भइरहेका बेला ओलीको कार्यकालको सुरुवाती दिनहरु भने त्यति उत्साहजनक छैनन् । मन्त्रिमण्डलमा नयाँ अनुहारहरुको वर्चस्व छ । विभिन्न पार्टीबाट युवा पंक्तिका नेताहरुले सरकारमा जाने अवसर पाएका कारण ओलीको यो चौथो कार्यकाल खास हुनसक्ने आँकलन छ ।

तेस्रो ठूलो दल माओवादी केन्द्रको राजनीतिक अस्थिरताले सत्ता र प्रतिपक्षको रोटेपिङमा पालैपालो हल्लिएका कांग्रेस–एमालेका लागि यो एक अवसर हो । दुई दल मिल्दा देशमा नयाँ तरंग आउने सम्भावना र खतरा दुवै रहेको विश्लेषकहरुको आ–आफ्नै तर्क छ ।

मन्त्रिमण्डल गठनपछि कार्य प्रारम्भमा मन्त्रीहरुले पहिलो निर्णयका नाममा आ–आफ्नै निर्णयहरु सार्वजनिक त गरेका छन् । तर यसअघिका जस्तै ती जस्ताको तस्तै रहला वा केही पूरा होला त्यो अहिले नै अनुमान गर्न हतारो होला । तर नेपालमा सरकार परिवर्तनपछि प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई लाइनका लाइन लागेर बधाइ हप्तौं दिनसम्म चल्ने परम्परा यो पाली पनि चल्यो ।

अझ विदेशी राजदूतहरुले मर्यादा नै बिर्सिएर बधाइको ‘बुकी’ हरु बोक्नेहरुको लर्को नै चल्यो । त्यसलाई नेपालका तर्फबाट विदेशमा राजदूत हुन पुगेका नेपाली राजदूतहरुको अवस्थासँग तुलना गरेर हेर्ने गरिन्छ ।

आफ्नो कार्यकालभरी नै हाम्रा राजदूतहरुले त्यहाँका प्रधानमन्त्री त परै जावस्, मन्त्रीहरुको समेत दर्शन नपाउने कुराले हामीलाई कूटनीतिक मर्यादामा अन्य देशले दिने दर्जाको चर्चा पनि यसपाली चल्यो । फेरि नयाँ मन्त्रीहरुलाई बधाइ दिनै नहुने भन्ने त पक्कै होइन, तर कुरा यतिमात्र हो कि अहिले नेपाल बधाइ लिने दिने भन्दा पनि काम गर्नुपर्ने दबाबमा छ । प्रधानमन्त्री ओली र मन्त्रीहरुले गरेको घोषणाअनुसार काम होला या नहोला त्यो पछि लेखौँला । तर यसअघिका उदाहरणका आधारमा भन्दा पदप्राप्तीको भोकमा सार्वजनिक खपतका लागि बोलिने कतिपय आकर्षक निर्णय नै नेताहरुप्रतिको विकर्षणको मुख्य साधन बन्न सक्छ ।

ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले नै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई स्तरोन्नती गर्ने घोषणा गरेको थियो । ३ सय कार्य दिन तोकेर ओलीले त्रिवि क्रिकेट रंगशालालाई सुविधासम्पन्न गराउने भने पनि अहिलेसम्म काम सुरु नभएको भन्दै आलोचना हुन थालेको छ ।

बिहानीले दिउँसोको संकेत गर्छ भनेझै ओली नेतृत्वको यो कार्यकाल त्यति उत्साहजनक देखिएको छैन । अहिलेसम्मको गतिविधि हेर्दा ओली नेतृत्वको मन्त्रिमण्डल अनुगमन, भेटघाट र निर्देशनमा हराएको छ । मन्त्रीहरु अनुगमन र भेटघाटमा व्यस्त रहँदा प्रधानमन्त्री ओली भने निर्देशनमा व्यस्त छन् । मंगलबार ओलीले विभिन्न मन्त्रालयका सचिवहरुलाई बोलाएर २६ बुँदे निर्देशन दिए । प्रधानमन्त्री ओलीले सरकारले स्थायित्व दिने बताउँदै ढुक्कसँग काम गर्न आग्रह गरेका छन् । जसलाई सकारात्मक रुपमा हेरिएको छ । निर्देशनका कतिपय बुँदाले भने ओली आफैँले आफैँलाई गिज्याइरहेको छ । त्योमध्ये एक हो, धरहरा । अझैसम्म पनि पूर्णरुपमा सम्पन्न नभएको धरहरा ओलीले तीन वर्षअघि नै उद्घाटन गरेका थिए । २०७८ साल वैशाख ११ गते नै उद्घाटन गरिएको धरहराको हालसम्म ९५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । तर ओलीले त्यसबेला प्रधानमन्त्रीबाट हट्नुपर्ने बाध्यता र आफ्नो नाम लेखाउने हतारोले उद्घाटन गरिहाले । अझै पनि सर्वसाधारणले चढ्न पाएका छैनन् । काठमाडौं महानगरपालिकाले धरहराको पार्किङ निःशुल्क गर्ने तयारी गरेको छ । तर प्रधानमन्त्री ओलीले धरहरा पालिका विशेषको नहुने भन्दै शुल्क लिएर त्यसलाई चलाउने उर्दी जारी गरेका छन् । हतारमा निर्णय, शिलान्यास र उद्घाटन गरिहाल्ने नेपाली राजनीतिक परम्परामा रुमल्लिएका ओली कीर्तिपुरस्थित त्रिवि क्रिकेटको मैदानको हालत पनि त्यही त हुने होइन भन्ने आशंका उत्पन्न भएको छ । यसअघिको कार्यकालमा ‘पानी जहाज’ र ‘रेल’ को कुराले चर्चा र आलोचनामा परेका ओलीले भने अहिले संयमतापूर्वक आफ्ना अभिव्यक्तिहरु दिएको देखिन्छ । जनताको सेन्टिमेन्ट क्याच गर्न माहिर ओलीको सामाजिक सञ्जालको सक्रियता भने झनै बढेको छ । उनले गरेका काम सञ्चार माध्यममा भन्दा पहिला नै आफ्नो आधिकारिक पेजबाट सार्वजनिक गर्ने गर्छन् ।

सरकार परिवर्तन, विभिन्न राजनीतिक निर्णयहरु र व्यक्ति विशेषको ‘इन्ट्री’ को कारण घटबढ हुने नेपालको शेयर बजारमा भने हरियाली छ । यसअघि नै अर्थमन्त्री भएका बेला शेयर बजारमा सकारात्मक प्रभाव परेका भनिएका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै इन्ट्रीले शेयर बजारमा हरियाली छ । व्यक्ति विशेषले नै प्रभाव पार्ने नेपाली शेयर बजारमा भने ओली कार्यकालको सुरुवातमा नै उत्साह देखिएको छ । लाखौँ लगानी गरेर शेयर बजारमा डुबेकाहरुमा भने उत्साह देखिएको छ ।

ओली कार्यकालको सुरुवातसँगै हरियाली छाएको शेयर बजार जस्तै समग्र जनतामा नै उत्साह भर्ने गरी काम दुई ठूला दलको मिलानबाट हुने आशामा आम जनता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?