प्रादेशिक अस्पताल गौरमा सुत्केरी गराउनेको संख्या बढ्दो

लोकपथ
175
Shares

रणधिर साह/रौतहट । प्रदेशिक अस्पताल गौरमा पछिल्लो समय सुरक्षित प्रसूति गराउने महिलाको संख्यामा वृद्धि भएको छ ।

पहिला भन्दा अहिले अस्पतालको सेवा सुविधामा व्यापक सुधार गरिएको र निःशुल्क रुपमा सुरक्षित प्रसुती गराउने गरिएको कारण जिल्लाको विभिन्न पालिकाबाट प्रादेशिक अस्पतालमै गएर सुत्केरी हुनेको संख्यामा वृद्धि भएको हो ।

गत वर्षको तुलनामा यो वर्ष प्रादेशिक अस्पताल गौरमा सुरक्षित रुपमा बच्चा जन्माउने महिलाको संख्या अत्यधिक बढेको अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष अनवर हाशमीले बताएका छन् ।

अहिले दैनिक जसो २५ देखी ३० जनासम्म महिला यस अस्पतालमा बच्चा जन्माउने गरेको अध्यक्ष हाशमीले बताए । साउन १६ गते मात्र १८ जना महिलाले बिना अप्रेशन अर्थात नर्मल अवस्थामा नै बच्चा जन्माएकी छन् भने ७ जना महिलालाई शल्यक्रिया गरी सफलतापूर्वक सुत्केरी गराइएको उनले बताए ।

प्रसुति गराउने अनुभवी तथा दक्ष चिकित्सक र अन्य सेवा सुविधा तथा उपकरणको राम्रो व्यवस्था गरिएकोले पछिल्लो समय प्रादेशिक अस्पताल गौरमा बच्चा जन्माउने महिलाको संख्या बढेको अध्यक्ष हाशमीको भनाई छ ।

उनले मानिसमा चेतनाको स्तर बढेको भन्दै विगतमा भन्दा अहिले अधिकांश महिलाले नियमित गर्भ जाँचसमेत गर्ने गरेको बताए ।

अस्पतालमा रहेका पुराना, अनुभवी र दक्ष चिकित्सक एवं नर्सिङ कर्मचारीहरूका कारण सबैतिरबाट बच्चा जन्माउनका लागि यहाँ आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले बताए ।

डाक्टर ठाकुरका अनुसार प्रसूति कक्षमा १४ जना भन्दा बढी नर्सिङ कर्मचारी रहेको र उनीहरू चौबिसै घण्टा उपलब्ध हुने गरेका छन् । अस्पतालमा ३ जना प्रसूतिका विशेषज्ञ चिकित्सक रहेका छन् ।

मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरले दक्षजनशक्ति, चौबिसै घण्टा चिकित्सक सहितको सेवा, बिरामीलाई दिइने प्राथमिकता, निःशुल्क प्रसूति सेवा लगायतका कारण यो अस्पतालमा प्रसुती गराउनेको संख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको बताए ।

अस्पतालमा छुट्टै सुविधासम्पन्न प्रसुतीगृह निर्माण गरी शिशु सघन उपचार कक्षको क्षमता विस्तार गर्न आफू लागिपरेको मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरले बताए ।

निजी अस्पतालमा प्रसूति गराउँदा ठूलो रकम खर्च हुने गरेको छ । तर सरकारी अस्पतालमा निःशुल्क प्रसूति सेवा र शिशु सघन उपचार कक्षमा सेवा प्राप्त हुने भएकाले निजी भन्दा यस प्रादेशिक अस्पतालमा बच्चा जन्माउने आमाको संख्या दिनप्रतिदिन बढ्दै गएको पाइएको छ ।

तर प्रादेशिक अस्पताल गौरमा निशुल्क रुपमै सुत्केरी गराउन पाइने र यसरी निशुल्क प्रसुति गराउन पाउँदा ठुलो रकम खर्च हुनबाट पनि जोगिने भएको हुँदा प्रादेशिक अस्पताल गौरमा बच्चा जन्माउने महिलाको संख्यामा वृद्धि भएको छ ।

निजी अस्पतालमा शल्यक्रिया गरेर बच्चा झिक्न ६० देखी एक लाखसम्मको हाराहारीमा खर्च हुने गर्दछ । सरकारी अस्पतालमा प्रसूति गराउँदा यहाँको जन्म प्रमाणपत्र पछिसम्म काम लाग्ने र भरपर्दो हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?