अदालतको अवहेलना मुद्दामा १५ दिनभित्र बहस नोट पेस गर्न आदेश

लोकपथ
476
Shares


काठमाडौं । सिधाकुरा डटकम जोडिएको अदालतको अवहेलना मुद्दामा बहस नोट माग गरिएको छ । बिहीबार सर्वोच्च अदालतको ९ सदस्यीय बृहत पूर्ण इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश दिएको हो ।

बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुङ्गाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासले यस्तो आदेश दिएको हो ।

सिधाकुराले प्रसारण गरेको ‘डार्क फाइल’सम्बन्धमा सर्वोच्च प्रशासनबाट दर्ता गरिएको अदालतको अवहेलना मुद्दा बृहत पूर्ण इजलासमा पठाइएको थियो । गत जेठ ३० गते सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजलासले उक्त मुद्दालाई बृहत पूर्ण इजलासमा सुनुवाइका लागि पेस गर्ने आदेश दिएको थियो ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेको प्रतिवेदनबाट दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइमा बिहीबार सबै पक्षका कानुन व्यवसायीको कुरा सुनिएको थियो । सुनुवाइ सकिएपछि फैसला गर्ने प्रयोजनका लागि बहस नोट माग गरिएको हो ।

सिधाकुरा डटकमले ‘द डार्क फाइल’का नाममा प्रकाशन गरेको अडियो झुटो भएको सिआइबीको प्रतिवेदनसमेत आइसकेको र उक्त कार्यले अदालतको अवहेलना भएको हो कि होइन र भविष्यमा अदालतको अवहेलना र न्यायाधीश लगायतका व्यक्तिको मान सम्मानमा आँच आउन नदिन गर्नुपर्ने कार्यका सम्बन्धमा व्याख्या गर्नुपर्ने भएकाले सो मुद्दालाई बृहत पूर्ण इजलासमा पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?