प्रत्येक बर्ष काठमाडौँ उपत्यका लगाएत विभिन्न स्थानमा मनाइने पर्व ‘गथा मुग:” लाई भूत पन्छाउने पर्व ,कृषि कर्म सकी मनाइने सिनाज्या , तन्त्र बिध्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ । नेपालभाषामा ‘गः’ भनेको शहर र ‘थां’ भनेको थाम हो । घरघरबाट भूतप्रेतलाई विशेष पुजा सहित टोलटोलमा जम्मा गर्नका लागि सांकेतिक चिन्हका रुपमा गथां मुगः ठड्याइने चलन रहिआएको हो । पछि त्यो चिन्हलाई नै भूतप्रेतका रुपमा ब्याख्या भइआएको हो ।
उपत्यकामा पहिला धेरै कृषि कर्म गरिने र धेरै खेत भएकाले आफूले मात्र समयमा रोपाईं सिध्याउन नसक्ने हुँदा भूतको समेत सहयोग लिने गरिन्थ्यो । बैशाख शुक्ल द्वितिया र अक्षय तृतीयाका दिन रोपाईं गर्नुपर्ने घरमा भूत भित्र्याउने नेवारी परम्परा छ । भूतबाट भय रहेता पनि मिस्थान्न भोजन गराई खनजोत ,रोपाई आदि अफ्ठ्यारा कृषि काम गर्न लगान्थ्यो तर भूतलाई सधैभरि पाल्न नसकिने हुदा बन्धन मुक्त गर्नका लागि विधिपुर्याई बाहिर पन्छाउने पर्व नै गथामुग: पर्वका रुपमा लिइन्छ ।
बिहानैदेखि आआफ्नो टोलको दोबाटो र चौबाटोमा निगालो वा छ्वालीबाट बनाइएको तीनवटा खुट्टा भएको गथांमुगः ठड्याइन्छ र भूतको प्रतिमा बनाएर त्यसमा झुन्ड्याइन्छ । त्यसपछि कुनै ब्यक्तिलाई पेटभरी दहीचिउरा खुवाई त्यही दहीको भाँडोमा पैसा उठाउन लगाइन्छ । दिनभरी पैसा उठाउन लगाई साँझमा टोलबासी सबै मिलेर तान्त्रिक पूजा सहित त्यही ब्यक्तिलाई फेरि पेटभरी खुवाउँछन् र बलेको छ्वाली समात्न लगाई घण्टाकर्ण ढाल्ने गरिन्छ । त्यसपछि गथांमुगःमाथि उसलाई राखेर टोलका सबै मिली तानेर नजिकको नदीमा बिसर्जन गरिन्छ । केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । साथै बिशेष पूजा गरि घरको मुलढोका अगाडी र दोबाटोहरुमा बत्ति सहितको बिशेष भेटि भूतको लागि राखिदिने चलन रहीआएको छ । यस्तै घरमा भूतप्रेतको आतंक नहोस् भनेर मूलढोकामा विशेष किसिमको त्रिमुखी किला ठोक्ने चलन छ । यो दिन कुनैपनि बेला भूतसँग जम्काभेट हुनसक्ने भनी यसबाट बच्नको लागि फलामको औंठी लगाउने चलन छ ।
गोपाल वंशावली अनुसार गथांमुगःलाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै सहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ । यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ भन्ने मान्यता रहीआएको छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई उपत्यकाका भित्री भागमा बस्नेले महत्वपूर्ण पर्वका रुपमा मान्दै आएका छन् ।
पौराणिक कथा अनुसार शिवभक्त दानवराज वाणासुर र यादव सेनाबीच युद्ध भएको बेला वाणासुरका सेनालाई महादेव एवं कुमार कार्तिकेयले र यादव सेनालाई कृष्ण भगवानले साथ दिएका थिए । युद्धको क्रममा महादेवले तीनवटा टाउको र तीनवटा खुट्टा भएका शीतज्वर वा महेश्वरज्वरले यादव सेनालाई आक्रमण गरे । तर अर्कोतर्फ भगवान कृष्णले विषमज्वर उत्पन्न गरी वाणासुरका सेनालाई आक्रमण गरेपछि दानवराजको सेना युद्धमा हारे । युद्धमा हारेपछि कुमार कार्तिकेय भागे ।
शैव र वैष्णव बीचको यस शीतज्वर व विषमज्वर युद्ध ललितपुरमा देखाइने कार्तिक नाचमा अहिले पनि प्रदर्शन गर्ने चलन छ । दानवराजको पक्षमा युद्ध गरेकाले घण्टाकर्णलाई पनि राक्षस भन्ने गरियो र गथांमुगलाई बिसर्जन गर्ने चलन पनि युद्धमा हारेर भागेको प्रतीकको रुपमा लिने गरिन्छ ।
भारतको वाराणशीमा प्रचलित रुद्रायमल तन्त्रको कथाका पात्र घण्टाकर्णलाई काठमाडौं उपत्यकामा प्रचलित गथांमुग: सँग जोडिएपछि घण्टाकर्ण र गथांमुग: एकै हुन् भन्ने भान परेको हो। धेरैले गथांमुग:को शाव्दिक अनुवाद नै घण्टाकर्ण हो भन्ने बुझेका छन्। रुद्रयामलतन्त्रमा एक जना तान्त्रिकले भ्यागुतोको रुप लिई सो राक्षसलाई मारेको कथा उल्लेख छ ।
रुद्रायमल तन्त्रको कथाका अनुसार एक नास्तिकले भगवानको नाम सुन्न नपरोस् भनेर कानमा घण्टा झुण्ड्याएर हिड्ने गर्थे। त्यसैले उनको नाम घण्टाकर्ण रहन हो भन्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया