किताब जात्रा सुरु, शिक्षा र चेतनाको स्तर उकास्न उपयोगी

लोकपथ
35
Shares

काठमाडौं । किताब जात्राको छैटौँ संस्करण शुक्रबारबाट सुरु भएको छ ।

लेखक र पाठकबिच अन्तरङ्ग विमर्श हुने यस जात्राको शुक्रबार शिक्षामन्त्री विद्या भट्टराई र अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।

जात्राको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन जरुरी रहेको बताए ।

मुलुकमा राजनीतिक स्थायित्वका योगदान लागि सबैले हातेमालो गर्दै आर्थिक, सामाजिक रुपान्तरण र विकासका लागि सहकार्य गर्नुपर्ने पौडेलले बताए ।

‘आज देशको साझा उद्देश्य ‘समृद्ध नेपाल सुखी नेपाली’ हो । उक्त उद्देश्यमार्फत राष्ट्रिय आकांक्षालाई हासिल गर्नका निम्ति सबैले आ–आफ्नो ठाउँबाट राजनीतिक स्थायित्वका लागि योगदान दिन जरुरी छ । आर्थिक, सामाजिक रुपान्तरण र विकासका निम्ति पनि योगदान दिन जरुरी छ । यस राष्ट्रिय चाहनालाई शिक्षा र चेतनाको माध्यमबाट योगदान दिनका लागि सबैलाई हार्दिक धन्यावाद दिन चाहन्छु,’उनको भनाइ थियो ।

किताब जात्राको छैटौँ संस्करण सुरु भएकोमा खुशी व्यक्त गर्दै उनले जात्रालाई अविचलित र अविराम अगाडि बढाउन सुझाए ।

समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि आयोजनामा हुने हरेक प्रकारका कार्यक्रमहरुलाई सरकारको पूर्ण साथ र सहयोग रहेको उनको भनाइ छ ।

उनले भने, ‘हामी अहिले किताब जात्राको छैटौँ संस्करणमा छौँ । जात्रा अविचलित र अविराम जारी रहोस् । समाजको ज्ञान, चेतना, विवेक र एकताको सर्वोपरिरुपमा विकास गर्ने प्रयासका लागि आयोजकप्रति मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । यो प्रयासमा नेपाल सरकार साथमा रहेको ब्यहोरा समेत जानकारी गराउन चाहन्छु । किताबका माध्यमबाट ज्ञान र विवेकलाई समाजमा सम्प्रेषण गर्ने अभिछिन्न शृङ्खला मानव समाजमा छ । शृंखलालाई प्रभावकारी ढंगले अगाडि बढाउने सन्दर्भमा जात्रा महत्पूर्ण छ । अझ जात्रा मौलिकतामा आधारित रहेको छ भन्ने विश्वास मैले लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?