कक्षा १२ को कस्तो आयो समग्र नतिजा ? १२२ जनाको नतिजा रद्द

लोकपथ
133
Shares

काठमाडौं । शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलबाट ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल विद्यार्थीमध्ये एक सय २२ विद्यार्थीको नतिजा रद्द भएको छ ।

परीक्षाफल अनुसार १ लाख ८७ हजार विद्यार्थी ननग्रेडेड (एनजी) भएका छन् । परीक्षामा सहभागी भएका नियमिततर्फका ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थीमध्ये २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी अर्थात् ५२.९१ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् ।

सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थी छन् । उक्त जीपएमा पास हुनेको संख्या ७८ हजार ७५ रहेको परीक्षा बोर्डले जनाएको छ । २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ रहेको छ भने ३.२१ देखि ३.६० जीपीए प्राप्त गरेर ४६ हजार ८ सय ९३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

सबैभन्दा माथिल्लो ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ रहेको परीक्षा बोर्डले जनाएको छ । गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । बोर्डका अनुसार परीक्षाको मर्यादा कायम नगरेका विद्यार्थीको परीक्षा रद्द हुन्छ । परीक्षा हलमा चिट चोर्ने, निरीक्षक र परीक्षामा संलग्न व्यक्तिहरुलाई अभद्र व्यवहार गर्ने जस्ता कृयाकलाप गर्ने विद्यार्थीको परीक्षा रद्द हुन्छ । रद्द हुनेको संख्या एकसय २२ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?