एलआरआई स्कुल र मलेसियाका विद्यालयबीच विद्यार्थीलाई अध्ययन भ्रमणमा लैजाने सम्झौता

लोकपथ
441
Shares

काठमाडौं । काठमाडौंको कलंकीमा रहेको लर्निङ रिलम इन्टरनेसनल (एलआरआई) स्कुल र मलेसियाका विद्यालयबीच विद्यार्थीलाई शैक्षिक भ्रमणमा लैजाने सम्झौता भएको छ । शुक्रवार मलेसियाको क्वालालुम्पुरमा एलआरआई विद्यालय र त्यहाँका विद्यालयबीच विद्यार्थी भ्रमण आदानप्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपालको एलआरआई स्कुल र मलेसियाका तीनवटा प्रतिष्ठित पूर्व प्राथमिक तथा प्राथमिक विद्यालयबीच शिक्षक विद्यार्थी आदानप्रदान कार्यक्रमको सम्झौतापत्रमा हस्ताक्षर भएको एलआरआई स्कुलका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी दीपक जोशीले बताए ।

एलआरआई स्कुलको प्रतिनिधिमण्डलले मलेसियाको अग्र स्थानमा रहेका पूर्व प्राथमिक तथा प्राथमिक तहका तीनवटा विद्यालयको शैक्षिक गतिविधिको अवलोकन गरी ती विद्यालयसँग शैक्षिक गतिविधि तथा श्रोत साधनसमेत आदान–प्रदान गर्ने र आपसी सहकार्य गर्ने गरी द्विपक्षीय सम्झौता भएको हो । विद्यालयका संस्थापक ट्रस्टी डा. यशोधरा पन्तको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले टिचर्स स्टुडेण्ट एक्सचेन्ज प्रोग्राममा सम्झौता गरेका हुन् । सम्झौता अनुसार अब एलआरआई स्कुलका शिक्षक तथा विद्यार्थी मलेसियामा जान पाउनेछन् भने मलेसियाका शिक्षक तथा विद्यार्थी पनि एलआरआई स्कुलको भिजिटमा आउनेछन् ।

एलआरआई स्कुलको प्रतिनिधि मण्डलले मलेसियाको स्थानीय सरकारका शिक्षा प्रमुख लगायत सरोकारवालासँग समेत छलफल गरी दुई देशबिच शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा आपसी सहयोग आदान प्रदान गर्ने विषयमा समेत सहमति गरेका छन् । भेटपछि मलेसियाका प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरी एलआरआई विद्यालयसँग विद्यार्थी भ्रमणको आदानप्रदान गर्ने सम्बन्धी थप सम्झौता गरिने प्रतिबद्धता जनाइएको छ ।

एलआरआई स्कुलको भ्रमण टोलीले मलेसियास्थित नेपाली दूतावासको समेत भ्रमण गरेको छ । भ्रमणका क्रममा दूतावासका पदाधिकारीले द्विपक्षीय सम्झौताको प्रशंसा गर्दै दुई विद्यालयबिचको आपसी सहयोग आदानप्रदानले शैक्षिक विकासमा समेत सहयोग पुग्ने बताए ।

एलआरआई स्कुलले मलेसियाका विद्यालयसँग यस्तो सम्झौता गरेसँगै शिक्षक विद्यार्थी शैक्षिक भ्रमण आदानप्रदान गर्ने देशको सङ्ख्या १९ पुगेको छ । एलआरआई स्कुलले यसअघि नै मुख्यतः चिनसँग यस्तो सम्झौता गरी विद्यार्थी आदानप्रदान गरिरहेको छ । सम्झौताले विद्यार्थीलाई ग्लोबल सिटिजनको अवधारणामा उत्प्रेरित गर्ने विश्वास लिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक जोशीले बताए ।

आगामी मङ्गलवार नेपाल फर्कने भ्रमण टोलीले मलेसियाका अन्य प्रतिष्ठित विद्यालयहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । टोलीमा संस्थापक ट्रस्टी डा. यशोधरा पन्त, व्यवस्थापन समितिका अध्यक्ष यशरेखा पन्त, उच्च माध्यमिक शिक्षा प्रमुख पुस्करनाथ फुलारा तथा वरिष्ठ समाजसेवी प्रतिभा शर्मा रहेका छन् ।

कलंकीमा अवस्थित एलआरआई स्कुल ट्रस्टमा आधारित मध्यम शुल्क भएको विद्यालय हो । यस विद्यालयले हरेक वर्ष सरकारले तोकेको भन्दा धेरै विद्यार्थीलाई छात्रवृत्तिमा समेत अध्यापन गराइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?