गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न माग

लोकपथ
112
Shares

काठमाडौं । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेस गोकर्णेश्वर नगर समिति वडा नं.८ एकाइ कार्य समितिले आज जोरपाटीस्थित बेशीगाउँमा आयोजित कार्यक्रममा उनले काठमाडौं उपत्यकामा पशुपतिनाथपछि धेरै धार्मिक पर्यटक आउने र पुरातात्त्विक, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रदेश मन्त्रालयले पहल गर्ने जानकारी दिए ।

पशुपतिनाथमा श्रीयन्त्रको पूजा, आराधना र गोकर्णेश्वरमा बालयन्त्रको पूजा, आराधना हुने भएकाले उत्तिकै महत्वको मानिने उनको भनाइ थियो । गोकर्णेश्वर महादेव मन्दिरका माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पनि काम गर्ने मन्त्री ठकुरीको प्रतिबद्धता थियो । सहकारी क्षेत्रमा आइपरेको समस्या समाधानका लागि पनि प्रदेश मन्त्रालयका तर्फबाट सक्दो सहयाग गरिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?