आज सुदूरपश्चिमले नयाँ मुख्यमन्त्री पाउँदै, कमलबहादुर शाह नै दोहोरिने सम्भावना

लोकपथ
294
Shares
फाइल तस्बिर

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको समय आज सकिनै लाग्दा आकांक्षीहरुको दौडधुप शुरु भएको छ ।

कांग्रेस–एमाले गठबन्धनमा सुदूरपश्चिमको मुख्यमन्त्रीको भाग नेपाली कांग्रेसले पाउने सहमति भइसकेकाले मुख्यमन्त्री छान्न आज आइतबार बिहान ११ बजे कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ ।

स्रोतका अनुसार, कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह दोस्रो कार्यकाल मुख्यमन्त्रीमा दोहोरिने तयारीमा छन् । हाल संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री शाहको अलावा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, कांग्रेसका पाका नेताद्वय बहादुरसिंह थापा र दिवानसिंह विष्ट पनि मुख्यमन्त्रीको दौडधुपमा छन् । तर शाह नै मुख्यमन्त्री बन्ने लगभग निश्चित रहेको स्रोतको भनाइ छ ।

गत शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले आइतबार (आज) अपराह्न ५ बजेसम्मको समय दिएर सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ मुख्यमन्त्री चयन गर्न लागिएको हो । सुदूरपश्चिममा कांग्रेस–एमाले गठबन्धनलाई नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?