दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै कमलबहादुर शाह, एमालेसँग मोटामोटी सहमति

लोकपथ
371
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

शुक्रबार निवर्तमान मुख्यमन्त्री रहेका दीर्घबहादुर सोडारीले राजीनामा दिएसँगै आज साँझ ५ बजेसम्मका लागि नयाँ सरकार गठनको आह्वान भएको छ ।

प्रदेश प्रमुख नजिर मिँयाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । त्यससँगै आन्तरिक छलफलमा जुटेका कांग्रेस–एमालेले नयाँ सरकारका लागि दाबी पेस गर्न लागेका हुन् ।

दुवै दलको आन्तरिक छलफलपछि कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहलाई नै मुख्यमन्त्रीको लागि अघि सार्ने तयारी छ । नेपाली कांग्रेस सुदूरपश्चिमका प्रदेश सभा सदस्य प्रकाश बमले समयसीमाभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्ने र कुनै पनि विवाद नरहेको लोकपथलाई जानकारी दिए । मन्त्रीहरुको नाम नटुंगिए पनि मुख्यमन्त्रीका लागि भने आज दाबी पेस हुने उनले बताए ।

‘मन्त्रीहरुको विषयमा थाहा छैन । मुख्यमन्त्री कमलबहादुर शाह नै हुने पक्का छ । हामी प्रदेश प्रमुखले दिएको समयभित्र दाबी पेस गर्छौँ,’ बमले लोकपथसँग भने ।

त्यसो त सुदूरपश्चिममा कांग्रेसबाट अन्य सांसदहरु समेत मुख्यमन्त्रीका लागि आकांक्षी देखिएका छन् ।

पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, प्रदेश सभा सदस्यद्वय बहादुरसिंह थापा र दिवानसिंह विष्ट पनि मुख्यमन्त्रीको दौडधुपमा छन् । त्यस विषयमा केही असन्तुष्टी रहे पनि एमालेले समेत शाहको नाममा ग्रीन सिंग्नल दिएको उनको दाबी छ ।

त्यसो त उनी २०७९ साल मंसिरको निर्वाचनपछि शाह २०७९ माघ २७ गते मुख्यमन्त्री चयन भएका थिए । तर केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलपछि उनले २०८० साल चैत २२ गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

५३ सदस्यीय सुुदूरपश्चिममा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११ (सभामुखसहित), नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीको ७, एकीकृत समाजवादीको ४, राप्रपाको १ र १ स्वतन्त्र सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?