चितवन । मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रणमा लिन यस्तो तयारी गरिएको हो । सो बाघ नारायणी किनारमा रहेको झाडीमा लुकेको आशंका गरिएको छ ।
जिल्ला वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीले बाघ खोजी गर्नका लागि ड्रोन क्यामराबाट हेर्ने तयारीसहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट ड्रोन मगाइएको बताए । उनले ड्रोनले बाघ पहिचान गरेपछि हात्तीको सहायताले डार्ट (बेहोस) गर्ने योजना रहेको बताए ।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेनरी चिकित्सक डा.विजयकुमार श्रेष्ठले कसराबाट ड्रोन र तीन वटा हात्ती आउँदै गरेको र त्यसपछि खोजी गरिने बताए । उनका अनुसार सुरुमा ड्रोनबाट पहिचान गरेर बाघ देखिएमा डार्ट गर्ने तयारी गरिएको छ । सो क्षेत्रमा मानव आवतजावत गर्न रोकिएको छ ।
आज बिहान मर्निङ वाक जाँदै गरेका भरतपुर महानगरपालिका–२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई भरतपुर–१ नारायणी किनारमा बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको तीन ठाउँमा हड्डी भाँचिएको छ भने पाँच वटा दाँत फुत्केर घाँटीमा पुगेका छन् ।
उनको चितवन मेडिकल कलेज ९सिएमसी० शिक्षण अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिए । उनका अनुसार श्रेष्ठको पाँच वटा कृत्रिम दाँत फुत्केर घाँटीमा गएर अड्किएको थियो । बाघको आक्रमणबाट दाहिने हातको हत्केला र नाडीको हड्डी भाँचिएका छन् । यस्तै दाहिने कुहिनाको नजिकको (केल्भिकल) हड्डीसमेत भाँचिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया