धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले आइतबार दिउँसो दाबी पेस गरेका छन् । बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीमा शाहलाई सार्ने औपचारिक निर्णय गरेपछि उनले एमालेको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
दाबी पेस गरेसँगै शाह दोस्रोपटक मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनी यसअघि १४ महिना मुख्यमन्त्री भएका थिए ।
प्रदेश प्रमुखले मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।
मुख्यमन्त्री एकीकृत समाजवादीका दीर्घ सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाहलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षी प्रदेश सभा सदस्यहरु बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा पनि थिए ।
शाह कैलाली क्षेत्र नं. २ प्रदेश -१0 बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । २०२८ माघ १० गते अछामको तडिगैरा–४ हालको रामारोशनमा पिता मंगलबहादुर शाह र माता चन्द्रादेवी शाहको कोखबाट जन्मिएका शाहले टीकापुरको वीरेन्द्र विद्या मन्दिरबाट शैक्षिक यात्रा सुरु गरेका थिए ।
नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसबाट कमर्समा स्नातक गरेका शाहले २०४४ सालमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ थिए । २०४६ देखि २०५२ सम्म नेपाल विद्यार्थी संघको क्याम्पस इकाई समिति सदस्य हुँदै महाधिवेशन प्रतिनिधि बनेका शाहले पार्टी निकट नेपाल तरुण दलमा पनि जिम्मेवारी बहन गरिसकेका छन् ।
नेपाल तरुण दलमा काम गरेको १४ वर्षको अनुभव बटुलेका उनी २०५४ देखि २०६८ सम्म केन्द्रीय खेलकुद विभाग सदस्य, केन्द्रीय कोषाध्यक्ष, सचिव हुँदै केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारी थिए । शाह २०५३ सालदेखि नवौं, दशौं, एघारौं, बार्हौं, तेर्हौं र चौधौं महाधिवेशन महासमिति सदस्य बनेका थिए भने २०४६ र २०६२/०६३ को जनआन्दोलनमा पटकपटक गरि चार महिनासम्म राजनीतिक बन्दीसमेत बनाइएका थिए ।
प्रखर वक्ता, निडर, प्रष्ट, सहयोगी छवि बनाउदै राजनीतिमा होमिएका शाह २०७० को दोश्रो संविधानसभाको निर्वाचनमा कैलाली क्षेत्र नं. २ बाट सभासद पदका उम्मेदवार बनेका थिए भने तेह्रौं महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका थिए ।
कोरोना भाइरसले विश्व नै विक्षिप्त बनेको समयमा सरकार लगाएको लकडाउनका समयमा आर्थिक अवस्था निकै कमजोर भएकालाई खाद्यान्न सहयोग, निशुल्क अटो एम्बुलेन्स सेवा, राहत अभियान सञ्चालन गर्दै उनले मनकारी व्यवहार देखाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया