ग्लोबल आईएमईलाई पछि पार्दै नबिल बन्यो नम्बर १ बैंक

लोकपथ
1.8k
Shares

काठमाडौं । नबिल बैंक आर्थिक वर्ष २०८०–२०८१ को सर्वोत्कृष्ट बैंक बनेको छ । ग्लोबल आईएमई बैंकलाई उछिन्दै नबिल बैंकले आफूलाई एक नम्बरमा उभ्याउन सफल भएको हो । नाफाको आधारमा आफूलाई शीर्ष बैंकको रुपमा प्रस्तुत गर्न नबिल बैंक सफल भएको हो ।

वाणिज्य बैंकहरुले सोमबार प्रकाशन गरेको वित्तीय विवरणअनुसार, नबिल सबैभन्दा बढी नाफा गर्ने बैंक बनेको छ । बढी नाफा गर्ने बैंकको सूचीमा ग्लोबल आईएमई दोस्रो स्थानमा परेको छ । यसअघि आर्थिक वर्ष २०७९–८० मा ग्लोबल आईएमई पहिलो स्थानमा थियो ।

आर्थिक वर्ष २०८०/८१ मा नबिलले सर्वाधिक ७ अर्ब ६ करोड रुपैयाँ नाफा गर्दा ग्लोबलले ६ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको छ । नबिल अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा १०.२३ प्रतिशतले वृद्धि गर्दै शीर्ष एकमा पर्न सफल भएको हो ।

ब्याज आम्दानीमा सामान्य वृद्धि र खुद ब्याज आम्दानीमा गिरावट आउँदा पनि नबिलले ६६ करोड रुपैयाँले नाफा बढाएको छ । सो बैंकको नाफा बढ्नुको मुल कारण नोक्सानी व्यवस्थामा कमी हो ।

नबिलको नाफा बढेसँगै प्रतिसेयर आम्दानी २.४२ रुपैयाँले बढेर २६.०९ रुपैयाँ पुगेको छ भने नेटवर्थ २२०.१६ रुपैयाँ र पीई रेसियो २०.०८ कायम भएको छ । यसैगरी निष्क्रिय कर्जा ३.३९ प्रतिशतबाट बढेर ३.८५ प्रतिशत पुगेको छ भने खुद निष्क्रिय कर्जा १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशत कायम भएको छ । नबिलको सीडी रेसियो ८३.६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?