काठमाडौं । २० वाणिज्य बैंकहरूमध्ये १० ओटा बैंकले अघिल्लो वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्ष खुद नाफा बढाएका छन् । सोमबार सार्वजनिक भएको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्ष २० वाणिज्य बैंकको कुल नाफा ६४ अर्ब १५ करोड रूपैयाँभन्दा बढी रहेको छ ।
अघिल्लो वर्ष यस अवधिसम्म यो रकम ५६ अर्ब ५७ करोड रूपैयाँभन्दा बढी थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष वाणिज्य बैंकहरूको खुद नाफा भने १३ दशमलव ४० प्रतिशत बढी भएको हो । गत वर्ष प्रभु बैंकले सर्वाधिक प्रतिशतले खुद नाफा बढाएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म २८ करोड २ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको प्रभु बैंकले गत वर्ष सोही अवधिसम्म ४ अर्ब ४८ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।
यस्तै, कुमारी बैंकको ३४५.६७ प्रतिशत, प्राइम कमर्सियलको २६७.१९, कृषि विकास बैंकको १७६.२३, हिमालयन बैंकको ८१.६० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९.७१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ३२.७९, नबिल बैंकको १०.२३, एभरेष्ट बैंकको १०.०७ र नेपाल एसबिआई बैंकको २.३५ प्रतिशत खुद नाफा बढेको छ । गत वर्ष खुद नाफा सर्वाधिक घट्नेमा एनआईसी एशिया बैंक रहेको छ । अघिल्लो वर्ष ४ अर्ब ४४ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको एनआईसी एशिया बैंकले गत वर्ष १ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया