चेकिङमा रहेका ट्राफिक प्रहरी नै भारतीयको अपहरणमा !

पाँच भारतीयविरुद्ध अपहरण तथा शरीर बन्धकमा मुद्दा दर्ताको तयारी

लोकपथ
1.6k
Shares
प्रहरी चेकिङको प्रतिकात्मक तस्विर : एआई

काठमाडौं । सिन्धुलीमा भारतीय गाडीमा सवार ५ जनाले चेकिङमा रहेका ट्राफिक प्रहरीलाई अपहरण गरेको पाइएको छ । ट्राफिक चेकजाँच गरिरहेका प्रहरीलाई उनीहरुले सडकबाट तानेर गाडीमा हालेका हुन् ।

सिन्धुलीको राजमार्ग क्षेत्रमा बिआर–२२–एपी ७३२१ नम्बरको गाडीमा सवार ५ जना भारतीयले चेकजाँच गरिरहेका सहायक प्रहरी हवलदार सन्तोष नारायण दासलाई नियन्त्रणमा लिएका हुन् ।

२४ सै घण्टा नियमित रूपमा चेकजाँच हुने सिन्धुलीको चियाबारी नजिकै रहेको चेकजाँच स्थलमा गत साउन १२ गते मापसे चेकिङ गरिरहेका प्रहरी सहायक हवलदार दासलाई भारतीयको समूहले सडकबाट तानेर गाडीमा हालेका थिए । प्रहरीलाई नै गाडीमा हालेर भाग्दै गर्दा प्रहरीले उक्त गाडीसहित त्यसमा सवार पाँच जनालाई तीनसय मिटर टाढा पुगेपछि नियन्त्रणमा लिएको थियो ।

चेकजाँच स्थलभन्दा ३ सय मिटर अगाडि बढेपछि प्रहरीले उक्त गाडीसहित गाडीमा सवार भारत सितामढी सरखण्डका २५ वर्षीय मुकेश कुमार, बथनाहका ३८ वर्षीय दिलीपकुमार, समस्तीपुरका ३५ वर्षीय अविनाश कुमार, सितामाढी नस्लपुरका ४२ वर्षीय रामानन्द प्रसाद र सितामढी सुरखंडका ३४ वर्षीय आनन्द प्रकाशलाई नियन्त्रणमा लिई ट्राफिक प्रहरीको उद्धार गरेको थियो ।

मादक पदार्थ सेवन गरेका भारतीयको समूहले सहायक हवलदार दासलाई चालकको बायाँ तर्फको झ्यालबाट जबरजस्ती गाडीभित्र तानेर अगाडि बढेका थिए ।

सिन्धुली प्रहरीका अनुसार उनीहरुमाथि अपहरण तथा शरीर बन्धकको कसुरमा अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?