बंगलादेशमा रहेका ४ सय नेपाली विद्यार्थी सुरक्षित छन्, सबैको समन्वयमा छौँ : नेपाली दूतावास

लोकपथ
266
Shares

काठमाडौं । बंगलादेशमा जारी विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशमै रहेका करिब ४ सय विद्यार्थीसहित नेपालीहरू सुरक्षित रहेको जनाएको छ । उनीहरू सबै दूतावाससँगको समन्वयमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘बंगलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरूसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र उहाँहरुसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ,’ दूतावासले भनेको छ ।

दूतावासले नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै नेपाल फर्किन चाहने विद्यार्थीहरू तथा समस्यामा परेका नेपालीले दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीमार्फत सम्पर्कमा आउन आग्रह गरेको छ ।

बंगलादेशमा आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शन पुनः उग्र बन्दै गइरहेको छ । केही दिनदेखि ‘शान्त’ रहेको बंगलादेशमा शनिबारदेखि पुनः अशान्ति छाएको हो । त्यहाँको अवस्था अहिले यति बिग्रिएको छ कि, आइतबार एक दिनमा मात्रै १३ प्रहरीसहित ९४ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामालाई नै प्रमुख एजेन्डा बनाएकाले आन्दोलन थप हिंसात्मक बन्दै गएको हो ।

हिजो आइतबार ठूलो संख्यामा हताहती भएपछि सरकारले देशव्यापी अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । साथै इन्टरनेट सेवा पनि बन्द गरिएका छन् । आज सोमबारसम्मका लागि सबै सरकारी कार्यालयहरूमा पनि बिदा दिइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आइतबार दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा एकै दिन ९४ जना मारिएका छन् । बंगलादेशमा पछिल्लो विद्यार्थी आन्दोलनका क्रममा एकैदिन यति ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको यो पहिलोपटक हो । विद्यार्थीहरूको यही आन्दोलनमा गत जुलाई १९ मा ६७ जनाको मृत्यु भएको थियो ।

केही ठाउँमा सत्तारुढ दल अवामी लिगका कार्यकर्ता र प्रदर्शनकारी विद्यार्थीबीच पनि झडप भएको छ । केही ठाउँमा अवामी लिगका कार्यकर्ता र नेताहरूको समेत मृत्यु भएको छ । नरसिंगडी जिल्लामा अवामी लिगका ६ कार्यकर्ताको मृत्यु भएको छ ।

ढाकाका विभिन्न क्षेत्रमा भएको प्रदर्शनका क्रममा केही विद्यार्थीसहित ८ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै लक्ष्मीपुरमा ८ जनाको मृत्यु भएको छ । त्यस्तै सिल्हेटमा छात्र लिग, आन्दोलनकारी विद्यार्थी र प्रहरीबीच भएको झडपमा ५ जनाको मृत्यु भएको छ ।

आज सोमबार पनि विद्यार्थीहरु बिहानैदेखि प्रदर्शनमा उत्रिरहेका छन् । यो समाचार लेखिरहँदा पनि विभिन्न ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेका छन् । भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीतिविरूद्धको आन्दोलन अब सरकारविरोधी आन्दोलनमा परिणत भएको छ । आन्दोलन जिल्ला तहसम्म फैलिँदै गएको छ । त्यसमध्ये सिराजगन्जमा सबैभन्दा धेरै हताहती भएको बताइएको छ । त्यहाँ आइतबार कम्तीमा १८ जना मारिएकोमा १३ जना सुरक्षाकर्मी नै रहेको पनि जनाइएको छ ।

स्थिति अप्रिय हुँदै गएपछि प्रधानमन्त्री शेख हसिनाले केही दिनअघि ‘विभेदविरोधी विद्यार्थी आन्दोलन’ का संयोजकहरूलाई वार्तामा बोलाएकी थिइन् । ‘गणभवनको ढोका सधैँ खुल्ला छ । म कोटाविरोधी प्रदर्शनकारीहरूसँग कुरा गर्न चाहन्छु । उनीहरूको कुरा सुन्न चाहन्छु । म हिँसा चाहन्नँ, ’ प्रधानमन्त्रीले हसिनाले भनेकी थिइन् । पेशाजीवी समन्वय परिषद्सँगको भेटमा उनले वार्ताको आह्वान गरेकी हुन् । तर आन्दोलनकारीहरू भने हसिनासँग वार्तामा नबस्ने अडानमा रहेका छन् । आन्दोलनकारी समूहका संयोजक नाहिद इस्लामले फेसबुकमा लेखेका छन्, ’हत्यारा सरकारसँग न्यायको अपेक्षा र वार्ता गर्न सकिन्न । क्षमा दिने समय बितिसकेको छ ।’

तर, पछिल्ला दिनमा आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री शेख हसिनाको पनि बोली फेरिएको छ । उनले हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरू विद्यार्थी नभई आतंककारी रहेको बताएकी छन् । आइतबारको प्रदर्शनपछि सुरक्षाका सबै निकाय प्रमुखहरूसँगको छलफलमा उनले प्रधानमन्त्रीको राजीनामा मागेर हिंसात्मक प्रदर्शन गर्नेहरू आतंककारी रहेको बताउँदै यस्ता प्रवृत्तिविरूद्ध लड्न नागरिकहरूलाई आह्वान गरेकी छन् ।

सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सैनिकका सन्ततिहरूलाई जागिरमा ३० प्रतिशत आरक्षण दिने नीति ल्याएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । जुलाइ पहिलो साता बंगलादेशको उच्च अदालतले पनि सरकारको पक्षमा निर्णय फैसला गरेपछि आन्दोलन चर्किँदै हिंसात्मक बनेको थियो ।

जुलाई तेस्रो साता उच्चको आदेश उल्ट्याउँदै बंगलादेशको सर्वोच्च अदालतले ३० प्रतिशतको आरक्षणलाई ५ प्रतशित बनाउन आदेश दिएको थियो । साथै, एक प्रतिशत जनजाति समुदाय र एक प्रतिशत अपांगता भएका वा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका रूपमा पहिचान गर्नेहरूका लागि छुट्याउन पनि आदेश दिएको थियो ।

९३ प्रतिशत भने मेरिटको आधारमा बनाउन आदेश दिइएको हो । सर्वोच्चले नै सरकारको निर्णयमा ब्रेक लगाइदिएकाले विद्यार्थीहरूलाई आन्दोलनबाट पछि हट्ने विश्वास गरिएको थियो । त्यसबेलासम्म २०० जना भन्दा बढीको मृत्यु भइसकेका थियो भने सयौं घाइते भएका थिए । त्यही हाराहारीमा पक्राउ पनि परेका थिए ।

अदालतको आदेशपछि भने विद्यार्थीहरूले मृतकका परिवारलाई क्षतपूर्ति दिनुपर्ने, घाइते विद्यार्थीको सरकारले उपचारगरिदिनुपर्ने लगायतका माग राख्दै आन्दोलनलाई निरन्तरता दिए । विद्यार्थीहरुले आन्दोलन चर्काएपनि प्रधानमन्त्री हसिनाले सुरूवातदेखि नै बेवास्ता गर्दै आएकी थिइन् । उनले सेना लगाएरै विद्यार्थीहरूको आन्दोलनलाई दबाउने कोसिस गरेकी थिइन् ।

पछिल्ला दिनमा विद्यार्थीहरु आन्दोलित हुनुको मुख्य कारण भनेको आन्दोलनबाट भएको क्षति र त्यसलाई परिपूर्ति गर्नेबारे प्रधानमन्त्री हसिनाको बेवास्ता हो । उनले बेवास्ता गरेकाले नै विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेर आन्दोलन चर्काएका हुन् ।

विद्यार्थी आन्दोलन अहिले यतिसम्म अघि बढेको छ कि, उनीहरूले देशभरका नागरिकलाई सरकारलाई कर नबुझाउन आह्वान गरिरहेका छन् । विद्यार्थीहरूको आन्दोलनमा समाजका अन्य तप्काका मानिसहरू पनि जोडिएका छन् । यसले विद्यार्थीहरु थप हौसिएका छन् । उनीहरुको आन्दोलन विपक्षी दलसहित पूर्व सैनिकहरू र नागरिकहरू पनि जोडिदै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?