काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने सम्भावना बढेको छ । देशमा अशान्ति बढ्दै जाँदा प्रधानमन्त्रीको राजीनामा आउने सम्भावना बढेको प्रधानमन्त्री हसिनाका वरिष्ठ सल्लाहकारले सोमबार एएफपीसँग बताएका छन् ।
उनले भने, ‘राजीनामा दिने कि नदिने भन्ने प्रश्न उठेपछि उहाँको राजीनामाको ‘सम्भावना’ रहेको बताउनुभएको हो ।’
‘राजनीतिक अवस्था तरल बनेको छ । सम्भवतः उहाँले राजिनामा दिनुहुन्छ । तर यो कसरी हुन्छ मलाई थाहा छैन,’ नाम नबताउने शर्तमा प्रधानमन्त्री निकट एक सहयोगीले भने ।
यसैबीच प्रधानमन्त्री हसिनाका छोराले सोमबार देशको सुरक्षा बललाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा जारी सन्देशमा कुनै पनि गैर–निर्वाचित समूहबाट हुनसक्ने सत्ता कब्जा रोक्न आग्रह गरेका छन् । हाल अमेरिकामा बसोबास गर्दै आएका सजीब वाजेद जोयले फेसबुकमा लेखेका छन्, ‘हाम्रो कर्तव्य हाम्रा जनता र हाम्रो देशलाई सुरक्षित राख्नु र संविधानको पालना गर्नु हो । यसको अर्थ कुनै पनि अनिर्वाचित सरकारलाई एक मिनेट पनि सत्तामा आउन नदिनुहोस्, यो तपाईंको कर्तव्य हो ।’
उता, बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको बेला बंगलादेशका सेना प्रमुख वाकर–उज–जमानले अहिले देशबासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई जानकारी दिएको छ । सेनाका प्रवक्ता रशेदुल आलमले भने, ‘जनरल वाकरले देशबासीका नाममा सम्बोधन गर्नुहुनेछ ।’
प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले पुनः प्रदर्शन शुरू गरेपछि आइतबार भएको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्यांकमा कम्तीमा ३०० जनाको मृत्यु भएको पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया