काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्रीहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
आइतबार मुख्यमन्त्री नियुक्त भएका शाहले आज प्रदेश प्रमुख नजिर मियाँ समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुख मियाँले आइतबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।
यसअघिका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखेपछि शुक्रबार राजीनामाको घोषणा गरेका थिए ।
शाह दोस्रोपटक मुख्यमन्त्री बनेका हुन् । भने प्रदेशको पाँचौ मुख्यमन्त्री हुन् ।
नवनियुक्त मुख्यमन्त्री शाहले आजै मन्त्रिमण्डल समेत विस्तार गरेका छन् ।
उनले नेपाली कांग्रेसका दुई, एमालेबाट तीन र नागरिक उन्मुक्ति पार्टीबाट एक जना मन्त्री नियुक्त गरेका हुन् भने कांग्रेसबाट दुई र एमालेबाट एक जना राज्यमन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री जस अनुसार कांग्रेसका मेघराज खड्का सामाजिक विकास मन्त्री, बहादुरसिंह थापा आर्थिक मामिलामन्त्री बनेका छन् । त्यस्तै एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्री र वीरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका हुन् ।
त्यस्तै कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् ।
उनीहरुले पनि आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
त्यसैगरी नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले आजै कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया