सपना प्रधान मल्लको जीवनीमा आधारित पुस्तिका ‘जुडिसियरिज ड्रिम : सपना’ सार्वजनिक

लोकपथ
994
Shares

काठमाडौं । महिला अधिकारकर्मी हुँदै सर्वोच्च अदालतको न्यायाधीश बनेकी सपना प्रधान मल्लको जीवनीमा आधारित पुस्तिका ‘जुडिसियरिज ड्रिम : सपना’ सार्वजनिक भएको छ । मल्लको बाल्यकालदेखि शिक्षाका लागि विद्रोह, महिला अधिकार, कानुनको अध्ययन हुँदै सर्वोच्च अदालतसम्मको यात्रा पुस्तकमा समेटिएको छ ।

न्याय र कानुनको क्षेत्रमा महिला सहभागिता, भोग्नुपर्ने समस्या आदिका कथा र सवाल समेटिएको यो पुस्तक सर्वोच्च अदालतकै शाखा अधिकृत सिम्रन नापीतले लेखेकी हुन् ।

गत शनिवार काठमाडौंको हिल्टन होटेलमा आयोजित ‘कानुनी क्षेत्रमा महिलाको अभिवृद्धि’ सम्बन्धी सम्मेलनमा सो पुस्तिका विमोचन गरिएको थियो । पुस्तक विमोचनका क्रममा न्यायाधीश सपना प्रधान मल्ल, नेपाल सरकारका पहिलो महिला मुख्यसचिव लिलादेवी गड्तौला, नेपाल बार एसोसिएसनको पहिलो महिला महासचिव अञ्जिता खनाल र वरिष्ठ अधिवक्ता गीता पाठक सङ्ग्रौलाको हातबाट सो पुस्तिका विमोचन गरिएको थियो ।

विमोचनपछि पुस्तककी लेखिका सिम्रन नापीतले पुस्तिका कानुनमा भविष्य खोजेका र देखेका महिला पुस्ताका लागि निकै प्रेरणादायी रहने बताइन् । न्यायाधीश मल्ल महिलाहरूलाई न्यायपालिकामा प्रेरित गर्ने प्रेरणादायी व्यक्तित्व रहको भन्दै उनकै जीवनमा आधारित पुस्तिकाले सबै महिलाहरूको मन छुने र केही गर्न उत्प्रेरित बनाउन मद्दत गर्ने नापीतले दाबी गरिन् ।

लेखिका सिम्रन नापीत

परम्परागत रूपमा पुरुष प्रधान समाज र क्षेत्रका बाधा तोड्दै मल्ल कसरी सर्वोच्च अदालतसम्म आइपुगिन् र उत्कृष्टता हासिल गरिन् भन्ने विषय पुस्तकमा समेटिएको छ । पुस्तक महिला अधिकार र सामाजिक न्यायको वकालत गर्ने दृढ प्रतिबद्धताले भरिएको दाबी गरिएको छ । पुस्तकमा मल्लले प्रजनन अधिकार, लैङ्गिक हिंसा र हिंसामा पारिएका समुदायको अधिकारसँग सम्बन्धित मुद्दाहरूमा लैङ्गिक समानतालाई अघि बढाउन गरिएको ऐतिहासिक निर्णय र फैसलाका साथै नेतृत्व र कानुनी कुशलताले आकाङ्क्षी महिला वकिल र न्यायाधीशहरूलाई कानुनी प्रणालीमार्फत अर्थपूर्ण परिवर्तन गर्न सम्भव छ भनेर देखाएको दाबी गरिएको छ ।

एक सामान्य अधिवक्ताबाट महिला अधिकारकर्मी, पहिलो संविधान सभाका सदस्य, हार्बड विश्वविद्यालयका विद्यार्थी हुँदै सर्वोच्च अदालतको न्यायाधीशसम्मको यात्रामा न्यायाधीश मल्लले धेरै महिलाहरूलाई कानुनी क्षेत्रमा करियर बनाउन र नेतृत्व पदहरूको लागि लक्ष्य राख्न प्रेरित गरेको विषय पुस्तकका मुख्य विशेषता हुन् ।

मल्लको सङ्घर्ष र सफलताको कथाले महिलाहरूलाई सामाजिक र पेसागत चुनौतीहरू पार गर्न हौसला दिने, लचिलोपन, समर्पण र न्यायप्रतिको प्रतिबद्धतामा जोड दिने कुरा पुस्तकमा उल्लेख गरिएको छ ।

पुस्तिका आगामी आइतबारबाट सबैका लागि उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?