ढाका । प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बंगलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा.मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ ।
प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजूमदारले मंगलबार भिडियो सन्देशमार्फत यस्तो घोषणा गरेका हुन् । ट्रिब्यूनका अनुसार विद्यार्थी नेता नाहिदले सोमबार राति २४ घण्टाभित्र अन्तरिम सरकारको रूपरेखा तयार गरिने घोषणा गरेका थिए ।
बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो ।
बंगलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गरेका हुन् ।
उता, नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुस बंगलादेशमा बनाउने भनिएको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न सहमत भएको द डेली स्टारले लेखेको छ । युनुसको भनाइ उद्धृत गर्दै डेली स्टारले लेखेको छ, ‘सुरुमा छात्रहरूले मलाई सम्पर्क गर्दा त म सहमत थिइनँ । मैले उनीहरूलाई मेरा धेरै कामहरू बाँकी रहेको बताएको थिएँ । तर विद्यार्थीहरूले बारम्बार आग्रह गरिरहे ।’
युनुसलाई विद्यार्थीले गरेको आग्रह भन्दै डेली स्टारमा लेखिएको छ, ‘यस आन्दोलनमा धेरै मान्छेहरूले ज्यान गुमाएका छन् जसमा विद्यार्थी र सर्वसाधारण छन् । अब बंगलादेशलाई ठीक ढंगले चलाउने अवसर आएको छ । र, यो तबमात्र सम्भव छ कि जब तपाईंले जिम्मेवारी लिनुहुन्छ । यदि तपाईं तयार हुनु भएन भने हाम्रा लागि राम्रो हुँदैछ । त्यही भएर पनि हामीले तपाईंलाई जिम्मेवारी लिन आग्रह गरेका हौँ ।’
युनुस यतिबेला विदेशमा रहेका छन् । उनी पेरिस ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन गएका थिए । त्यसपछि उपचारका लागि भन्दै उनको विदेश भ्रमण लम्बिएको छ । छिट्टै नै उनी स्वदेश फर्कने बताइएको छ । यसअघि युनुसले शेख हसिनाको राजीनामापछि बंगलादेश ’स्वतन्त्र’ भएको टिप्पणी गरेका थिए ।
हसिनाको कब्जामा रहेको मुलुक स्वतन्त्र भएको उनले भारतीय सञ्चारमाध्यम द प्रिन्टसँगको कुराकानीमा भनेका थिए । अवामी लिग नेतृत्वको सरकारले युनुसलाई १९० भन्दा बढी आरोप लगाएको छ । हसिनाले आफ्नै बुवा बंगबन्धु शेख मुजिबुर रहमानको विरासत ध्वस्त पार्ने काम गरेको युनुसको आरोप छ ।
यसैबीच, बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का महासचिव मिर्जा फक्रुल इस्लाम आलमगीरले आफ्नो पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमान चाँडै नै देश फर्कने घोषणा गरेका छन् ।
महासचिव मिर्जा फक्रुलले हसिना सरकारले नेता तारिक रहमानलाई झुटो मुद्दामा अन्यायपूर्ण रूपमा निर्वासित गरिएको जनाउदै उनले आन्दोलनलाई समर्थन गरेको र तुरुन्तै स्वदेश फिर्ता हुने आशा व्यक्त गरे । मिर्जा फक्रुलले आफ्ना पार्टी नेता बेगम खालिदा जियालाई समेत तुरुन्तै रिहा गर्ने निर्णय गरिएको उल्लेख गर्दै राजनीतिक कारणले जेलमा परेका अन्य व्यक्तिलाई पनि रिहा गर्ने जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया