काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक कक्ष (इमर्जेन्सी) मा उपचार गर्न आउने बिरामीहरुलाई उपचारबाट बञ्चित नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै उपचारका लागि आइपुग्ने बिरामीहरुलाई उपचारबाट बञ्चित नगराउन निर्देशन दिएका हुन् । साथै सम्बन्धित स्वास्थ्य संस्थामा उपचार सम्भव नभएमा अन्य अस्पतालसँग समन्वय गरेर पठाउन समेत सूचित गरेका छन् ।
‘…आकस्मिक कक्षमा उपचार गराउन आइपुग्ने बिरामीहरुलाई उपचार दिएर स्थिर गराइ थप आवश्यक सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नहुने भएमा मात्र त्यस्ता सेवाहरु उपलब्ध हुने अन्य अस्पतालमा सो अस्पतालसँग समन्वयमा प्रेषण गर्न गराउनुहुन यस मन्त्रालय सबै सरोकारवालासँग अनुरोध गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै मन्त्रालयले संविधानको धारा ३५ (१) लाई सम्झाउँदै कसैलाई पनि स्वास्थ्य सेवाबाट बञ्चित नगराउने निर्देशन दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया